‘अब माझी बालबालिका पढाइबाट बञ्चित हुँदैनन्’

yubraj Dulal
लाेकपाटी न्यूज

सिन्धुपाल्चोक, ७ चैत । सिन्धुपाल्चोकमा माझी परिवारको लागि एकीकृत बस्ती निमार्ण हुने भएको छ । इन्द्रावती गाँउपालिका ५, प्यूघरका ३६ घर माझी परिवारको लागि एकीकृत बस्ती बन्ने भएको हो ।

आफ्नो नाममा जग्गा नभएका माझी परिवारलाई जग्गाको लालपूर्जा समेत उपलब्ध गराई सो बस्ती निर्माण गरिन लागिएको छ । घरबारविहिन माझीहरु यस अघि इन्द्रावती बगर आसपास बस्दै आएका थिए । पटक पटकको इन्द्रावती बाढीले घरबास बगाएका माझी परिवारलाई भूकम्पले घर भत्काएपछि झनै कष्टका साथ जीवन बिताइरहेका थिए । आफ्नो नाममा जग्गा नभएपछि उनीहरुको भूकम्प पीडित परिचय पत्र पाएका थिएनन् । जग्गाकै कारण लाभग्राही सूचिमा नपरेपछि उनीहरु अस्थायी टहरोमा नै बस्दै आएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्थापितलाई जग्गा खरिद गर्न दिएको दुई लाख रुपैया प्रदान गरी जग्गा खरिद गरेपछि उनीहरुको घर बनाउने सपना पुरा हुन लागेको हो । भदौरे र प्यूघरका ३६ घरको लागि महिला आत्मनिर्भर केन्द्रको सहजिकरणमा गैर सरकारी संस्था अक्सफामले आर्थिक सहयोग गर्ने भएपछि सो बस्ती बन्न लागेको हो । बस्ती बन्ने भएपछि स्थानीय खुसी भएका छन् ।

‘हाम्रो आफ्नै जग्गा थिएन, घर थिएन, सुकुम्बासी बनेर बसेका थियौं’, स्थानीय लक्ष्मी माझिले भनिन्, ‘अहिले सरकारले जग्गा दिएको छ, अब घर पनि बन्ने भएपछि खुसी भएका छौं ।’ लक्ष्मीजस्तै सोहि ठाउँका रामभक्त माझी घर बन्ने भएपछि खुसी देखिए । ६६ वर्षका माझी लालपूर्जा नभएकै कारण सुकुम्बासी बन्न पुगेका थिए । ‘लालपूर्जा नभएकै कारण हामीले घर बनाउन पाएका थिएनौं’, उनले भने अहिले लालपूर्जा पनि छ, घर पनि बन्ने भएको छ । त्यो भन्दा के चाहिएको छ र हामीलाई ।’

बस्ती शिलान्यास गर्न पुगेका प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले अब माझी बालबालिका पढाईबाट बञ्चित हुनु नपर्ने बताए । ‘बस्ती बनेसँगै अब यो ठाउँका बालबालिका पढ्नबाट बञ्चित हुनेछैनन्’, उनले भने, ‘कोहि पढ्न पाउँदैनन् भने पढाउने जिम्मा हामी लिनेछौं ।’

बस्तीमा घर मात्रै भएर नपुग्ने भएकोले त्यसलाई आवश्यक पर्ने विजुली, सडक, खानेपानी, विद्यालय, सामुदायिक भवन निर्माण गर्न आफुले जिम्मेवारी लिने घोषणा गर्दै मन्त्री दुलालले माझी समुदायको बस्न पाउने अधिकारको सुनिश्चितता भएको बताए ।

मन्त्री दुलाल कार्यक्रमस्थलमा पुगेपछि गाउँपालिका अध्यक्षले देखाएको व्यवहारप्रति नेकपा इन्द्रावति संसदीय दलले ध्यानाकर्षण गरेको छ । खेद प्रस्ताव जारी गर्दै नेकपा इन्द्रावतिले गाउँपालिका जस्तो जिम्मेवार पदमा रहेको व्यक्ति नै अराजनीतिक शैलिमा कायैक्रम स्थलमा उपस्थित भएको भन्दै खेदजनक र गम्भीर भत्र्सना गरेको हो ।

‘बस्ती शिलान्यासका लागि प्रदेश सरकारका सामाजिक विकास मन्त्रीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्ने स्थानिय उपभोक्ताका समितिको निर्णयलाई चुनौति दिँदै समितिका पदाधिकारी सदस्यहरुलाई फोन मार्फत धम्क्याउने, डोनर संस्थालाई अनावश्यक टर्चर दिने जस्ता हर्कत अध्यक्ष स्वंयमबाट हुनु र कार्यक्रम स्थलमा उपस्थित मन्त्रीले छलफलका लागि गरेको आग्रहलाई अस्वीकार गरेको घटनाले अध्यक्षको पदीय मर्यादा र हैसियत समाप्त गरेको छ’ विज्ञप्तिमा उल्लेख छ ।

नेकपा इन्द्रावतिले यस्तो हर्कतप्रति अध्यक्ष तामाङसंग स्पष्टिकरण समेत मागेको छ । मन्त्री दुलालकै पहलमा मेलम्ची न.पा. १० सञ्जेलटारका वर्षाैदेखि भूमिहिन भएका २४ माझी परिवारले जग्गा प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्