गिरिजाप्रसाद काेइराला : नेपाली राजनीतिका शिखर पुरूष (जीवनी)

Girijababu5
लाेकपाटी न्यूज

काठमाडौं, ७ चैत । आज चैत्र ७ गते अर्थात नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। निडर नेताका रूपमा चिनिने ‘गिरिजाबाबु’ को निधन २०६६ साल चैत ७ गते भएको थियो।

विराटनगर जुट मिलमा मजदूरको रुपमा रहेर त्यहींबाट नेपाली राजनीतिको नेतृत्व सम्हालेका थिए। गिरिजाबाबुकै नेतृत्वमा २०६२–६३ को आन्दोलन पनि सफल भएको थियो। क्रान्तिकारी नेता कोइरालाले अाँट गरेकै कारण तात्कालीन माओवादीकाे प्रस्तावअनुरुप नेपालमा गणतन्त्र आएको थियो। २०४६ सालभन्दा अगाडिसम्म उनी क्रान्तिकारी थिए। कोइरालालाई चौथो आयाम भएको व्यक्तित्वका रुपमा लिने गरेका छन्।

उनको हक्की स्वभावकै कारण कोइरालाले नेपाली काँग्रेसको नेतृत्व गरेका थिए। उनी आफ्नो जीवन कालमा चार पटकसम्म प्रधानमन्त्री पनि भए। जीवनको उत्तरार्धमा उनी कम्युनिष्टहरुसंग सहकार्य गरेर नेपालबाट राजतन्त्र फाल्न सफल भएका थिए। विपीको सिद्धान्त मान्दै र परिस्थिति हेरेर भत्काउँदै आएका गिरिजाबाबु जुनसुकै हालतमा काँग्रेस नै एक मात्र जनताको पार्टी भएको बताउँथे । १० वर्ष लामाे जनयुद्धले गिरिजा-प्रचण्ड सहमतिपछि शान्तिपूर्ण मार्ग लिएकाे थियाे। दोस्रो जनआन्दोलनको नेतृत्व पनि गिरिजाबाबुले नै गरेका थिए।

२०६३ मंसीर ५ गते गिरिजाप्रसाद काेइराला र प्रचण्डबीच बिस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएकाे थियाे। २०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिष्ट विरोधी भनेर चिनिएका गिरिजाप्रसादले २०६२ सालमा कम्युनिष्टसँग हातेमालो गरेर अगाडि बढेका थिए। युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत उनको कडा आलोचना भयो। तर, गिरिजाबाबुको व्यक्तित्वका अगाडि त्यो आलोचना देखिएन।

गिरिजाप्रसाद कोइराला विस १९८१ असार १८ गते भारतको बिहार राज्यको शहरमा जिल्लाको टेडी भन्ने गाउँमा जन्मिएका थिए। उनी विपी कोइरालाका कान्छा भाइ हुन्। बुवा कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइराला निर्वासित भएको बेला गिरिजाबाबुको जन्म भएको हो। उनका दुई दाजुहरू विपी कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए। सन् १९२९ मा परिवारसँगै नेपाल फर्केका गिरिजाबाबुले सुष्मा कोइरालासित विवाह गरे। कांग्रेस नेतृ सुजाता कोइराला गिरिजाबाबुकी एक मात्र सन्तान हुन्। उनकै नेतृत्वमा २००४ सालमा नेपाल मजदुर कांग्रेसको स्थापना भयो। अहिले त्यसलाई नेपाल ट्रेड यूनियन कांग्रेसको रूपमा लिइएको छ।

गिरिजाप्रसादले विराटनगरमा मजदुर आन्लाेलनकाे नेतृत्व गरेका थिए। २००८ सालमा गिरिजाबाबु नेपाली कांग्रेस मोरङ सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासनको स्थापना हुनु पूर्वसम्म मोरङ सभापतिमा रहे। करिब ६ वर्ष जेल जीवन विताएका उनी रिहाई भएपछि भारतमा निर्वासित भएका गिरिजाबाबु मेलमिलापपछि गिरिजाप्रसाद २०३५ सालमा नेपाल फर्किए। गिरिजाबाबु २०३१ सालदेखि २०४७ सालसम्म कांग्रेसको महामन्त्री भए भने २०५३ सालदेखि मृत्यु नहुदाँसम्म लगातार उनी पार्टी सभापति रहे।

गिरिजाप्रसाद काेइराला नेपालका दुरदर्शी नेता मानिन्छन्। कम्युनिस्टविराेधी छवि बनाएर उनी जीवनकाे उत्तरार्धमा सहमति र सहकार्यकाे राजनीतिमा लम्किएका थिए। नेपालमा गणतन्त्रको स्थापनाकाे श्रेय प्रचण्डपछि काेइरालालाई नै जान्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्