कृषि बजेट खर्चको कार्यान्वयन भएन

Budjet
लाेकपाटी न्यूज

बनेपा, ६ चैत । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चमध्ये हालसम्म विकास बजेटको कुनै पनि काम अगाडि बढेको पाइएको छैन ।

कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकका अनुसार किसानका लागि प्राङ्गारिक खेती, रैथाने बाली, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, उच्च बाली पुष्प खेती र वन तथा वातावरण गरी विभिन्न शीर्षकमा प्राप्त भएको बजेट अहिलेसम्म कार्यान्वयन भएको छैन ।

केन्द्रका प्रमुख कृष्णभद्र अधिकारीका अनुसार बजेट पटक÷पटक गरी प्राप्त भए पनि ढिला गरी प्राप्त भएका कारण कार्यान्वयन ढिला भएको हो । प्रदेश सरकारले फागुन महीनामा मात्रै बजेट पठाएका कारण कार्यान्वयनको काम शून्य भएको उनले बताए ।

उनका अनुसार प्रदेश सरकारले नै कार्यान्वयन प्रक्रिया अगाडि बढाउन सूचना जारी गरी काम गर्न अख्तियारी प्राप्त भए पनि त्यसको कार्यान्वयनको प्रक्रिया बल्ल शुरु भएको छ । किसानले गर्ने कार्यमा समूहगत र सहकारी संस्थामार्फत गर्ने कामको सूचना प्रदेश सरकारले नै जारी गरी निवेदन आह्वान भएर त्यसलाई प्रक्रियामा लैजाने कार्यमा भइरहेको उनको भनाइ छ ।

‘प्रदेश सरकारबाट अख्तियारी ढिला आएका कारण कार्यान्वयनमा ढिला भएको हो’, अधिकारीले भने, ‘हामी अब कार्यान्वयनको चरणमा छौं, आर्थिक वर्ष शुरु भएको करीब आठ महीनापछि अख्तियारी प्राप्त भएकाले कतिसम्म खर्च गर्न सकिन्छ हेरौं ।’ सकेसम्म बजेटको शीर्षक अनुसार कार्यान्वयन गरिने उनले बताए ।

नमोबुद्ध नगरपालिका दाप्चाका किसान गोकुल तिमल्सिनाले सरकारले आह्वान गरेको सूचना वास्तविक किसानसम्म नपुगेको कारण के कस्ता खालका काम गर्न किसानलाई निवेदन आह्वान गरेको छ, भन्ने विषयमा जानकारी उपाएको उनको भनाइ छ ।

‘यस्ता सूचना वास्तविक किसानसमक्ष भन्दा पनि जिल्ला घुम्नेले मात्रै पाइरहेका हुन्छन्, वास्तविक किसानसम्म त्यो सूचना पुग्दा समयको सिमा सकिसकेको हुन्छ’, उनले भने, ‘निवेदन हाल्ने किसानले पनि अरुलाई जानकारी नदिने भएका कारण पनि थोरै व्यक्तिले मात्रै त्यस्ता खाले कार्यक्रम हात पार्ने गरेका छन् ।’

कृषि ज्ञान केन्द्रमा किसानका हितका लागि काम गर्न भन्दै प्रदेश सरकारले प्राङ्गारिक खेतीमा रु एक करोड ५४ लाख ३५ हजार विनियोजन गरेकामा जम्मा रु १९ हजार खर्च भएको छ भने रैथाने बालीका लागि रु ६५ लाख पाँच हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि रु ६८ लाख ४५ हजार, उच्च बाली र पुष्पखेतीका लागि रु एक करोड एक लाख २० हजार, वन तथा वातावरणमा रु २९ लाख विनियोजन गरेको छ ।

सबै शीर्षकमा गरी फागुन मसान्तसम्ममा रु सात करोड ४१ लाख ५५ हजार ८९६ प्राप्त भएको कृषि ज्ञान केन्द्रका लेखापाल अखिल खड्काले जानकारी दिए । त्यस्तै सङ्घीय सर्शत अनुदान र प्रशासनिक बजेट मात्र खर्च भइरहेको बताइएको छ । प्रदेश सरकार अन्तर्गत रहेका कृषि ज्ञान केन्द्र धुलिखेलले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी दुई जिल्ला हेर्ने जिम्मा पाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्