एकतापछि नेकपा थप शक्तिशाली हुन्छ : झलनाथ खनाल

Jhalanath khanal
लाेकपाटी न्यूज

काठमाडौं, ६ चैत । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता झलनाथ खनालले नेकपा शाक्तिशाली पार्टी बनेर उदाएको बताएका छन् । उनले एकतापछि नेकपा अझै सुदृढ र शक्तिशाली भएर आउने स्पष्ट पारे ।

जनसांस्कृतिक महासङ्घ नेपालद्वारा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका १ अनैकोटस्थित दाहालगाउँमा आयोजित २१ औँ शहीद दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले पार्टी एकताको विकल्प समेत नरहेको बताए ।

‘पार्टी एकताको विकल्प छैन’, उनले भने, ‘अब नेकपा एक भएर ठूलो शक्तिका रुपमा स्थापित हुन्छ, नेपालमा अब योबाहेक कुनै शक्तिशाली पार्टी हुँदैन ।’ पूँजीवादबाट मुक्त हुन उनले नेतालाई आग्रह समेत गरेका छन् ।

कार्यक्रममा नेता खनालले जनताको बलिदान खेर नगएको बताउँदै शहीदको बलिदानीका कारण आजको परिवर्तन सम्भव भएको बताए । उनले भने, ‘बलिदान खेर गएको छैन, आजको परिवर्तन शहीदको सपनाको फल हो ।’ उनले नेकपाले शहीद परिवारप्रति सम्मान व्यक्त गर्दै आएको र सहयोग गर्ने प्रतिबद्धता जनाए । पूर्वप्रधानमन्त्री खनालले ७० को दशक पार्टी एकीकरण र शुद्धिकरणको दशक भएको बताए ।

यस्तै पूर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्केको केही दिनमै पार्टी एकताको टुङ्गो लाग्ने बताए । उनले भने, ‘राजनीतिक प्रतिवेदन पनि तयार हुँदैछ, अध्यक्ष कमरेड आएपछि सबै टुङ्गो लाग्नेछ ।’

पूर्वमन्त्री एवं नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले शहीदको बलिदानीबाट प्राप्त उपलब्धीलाई रक्षार्थ संस्थागत गर्नुपर्ने बताए । उनले भने, ‘एकताबद्ध भएर प्राप्त उपलब्धीलाई संस्थागततर्फ लाग्नुपर्छ ।’ नेकपा स्थायी समिति सदस्य मणि थापाले जनताभन्दा ठूलो कुनै शक्ति नभएकाले जनताकै शक्तिलाई सर्वोपरी मान्नुपर्ने बताए ।

महासङ्घले सशस्त्र द्वन्द्वताका २०५५ साल चैत ५ गते अनैकोटस्थित एक घरमा बसिरहेका बेला सुरक्षाकर्मीको गोलीबाट जनकलाकार च्याङ्वा लामा, चिनिमाया लामा, गुम्बासिं तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र मञ्जु कुँवरको मृत्यु भएको सम्झनामा अनैकोटमा शहीद दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्