हेटौंडा, ५ चैत । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला जागरण अग्रज पत्रकारिता पुरस्कार–२०७५ बाट पुरस्कृत भएका छन् । स्टेट भिजन प्रा.लिद्वारा संचालित तु–खबर डटकमको दोस्रो वार्षिक उत्सव कार्यक्रमको अवसरमा धमलालाई १५ हजार राशिसहित उक्त पुरस्कार प्रदान गरिएको हो ।
लामो समयदेखि पत्रकारिताको क्षेत्रबाट मुलुकको सुशासन, विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै धमलालाई पुरस्कृत गरिएको हो । उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले पत्रकार धमलाको चर्चित टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा आर्थिक क्रान्ति किन भएन भनेर बहस शुरु गर्नुपर्ने धारणा राखेका थिए । अध्यक्ष तिमिल्सिनाले मुलुकको विकास र समृद्धिको लागि मिडियामा पत्रकार धमलाले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने विश्वास दिलाए । उनले थपे, ‘ऋषिजीले यो काम गर्न सक्नुहुन्छ, मलाई पूरा विश्वास छ ।’
त्यस्तै प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमर्कट्टेलले पत्रकार धमललाई देशको पत्रकारिताको नेताको रुपमा चित्रण गरे । उनले भने, ‘ऋषिजी नेपाली पत्रकारिता जगतको नेता हो, उहाँले पत्रकारिताको माध्यमबाट देश विकासको लागि र सुशासन कायम गर्न अग्रणी भूमिका निर्वाह गर्नुभएको छ ।’
कार्यक्रममा प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले नेपालको हरेक परिवर्तनका आन्दोलनमा पत्रकार धमलाको अग्रणी भूमिका रहेको बताए । उनले भने, ‘नेपालको परिवर्तनको आन्दोलनमा ऋषिजीको ठूलो भूमिका रहेको थियो, यो कुरा देशले कहिल्यै बिर्सन सक्दैन । हरेक विषयमा धमलाजी पोख्त हुनुहुन्छ, उहाँ गतिशिल व्यक्तिव्य हो, एजेण्डा उठान गर्नमा धमलाजी अरु पत्रकार साथीहरुभन्दा धेरै अगाडि हुनुहुन्छ ।’
त्यस्तै प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहराज्यमन्त्री ईन्द्र बानियाँले पनि समग्र देशको विकासको लागि पत्रकार धमलाले खेलेको भूमिका महत्वपूर्ण र अतुलनीय रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे । यता, नेकपाका नेता एवम् राष्ट्रियसभा सदस्य रामनारायण विडारीले पनि पत्रकार धमलाले मुलुकको विकास र समृद्धिको लागि विभिन्न मिडियाका माध्यमबाट अग्रणी भूमिका निर्वाह गरेको बताए ।
पुरस्कृत भएपछि सम्बोधन गर्दै पत्रकार धमलाले आफूले अब मुलुकको विकास र समृद्धिको लागि मिडियामार्फत नै सशक्त आवाज उठाउने विश्वास दिलाए । उनले मुलुक विकास हुनबाट बञ्चित हुनु भनेको नै भ्रष्टाचार रोग भएकोले भ्रष्टाचारलाई जरैदेखि उखेल्न आफूले सशक्त अभियान चलाउने स्पष्ट पारे ।
उनले भने, ‘म रिपोर्टर्स क्लब र प्राईम टेलिभिजनमार्फत यो विषयमा गहन बहस तथा अन्तरक्रिया गर्ने प्रण गर्दछु, भ्रष्टाचार अन्त्यको लागि मैले अभियान शुरु गरिसकेको छु, त्यस्तै मुलुकको विकासको लागि सुशासन अनिवार्य शर्त हो, यसमा पनि हामी पत्रकारहरु खरो उत्रिनुपर्छ ।’
उनले अब पत्रकारहरुले व्यवसायिक पत्रकारितामा बढि जोड दिनुपर्ने पनि धारणा राखे । उनले भने, ‘देश बनाउने गरी पत्रकारिता गर्नुपर्छ, यो संकल्प हामीले राख्यौं भने धेरै परिवर्तन गर्न सकिन्छ ।’ उनले मुलुकको विकास र समृद्धिको लागि आफूले राष्ट्रिय अभियान नै चलाउने घोषणा गर्दै भ्रष्टाचार गर्नेलाई कारवाही गर्नुपर्ने टिप्पणी गरे ।
तु–खबर डटकमको प्रधानसम्पादक तथा अध्यक्ष गिरिजा अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको प्रमूख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य कुमारी मोक्तान, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलाल, नेपाल पत्रकार महासंघ महासचिव रमेश विष्टलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ ३ नं. प्रदेशका अध्यक्ष प्रताप बिष्ट, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, उद्योग वाणिज्य संघ मकवानपुरको अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघका अध्यक्ष नवराज अर्याल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं लगायतको उपस्थिति रहेको थियो ।



लाेकपाटी न्यूज

