काठमाडौं, ५ चैत । ३३ केजी सुन प्रकरण सम्बन्धमा ८ न्यायाधीशमाथि छानविन हुने भएको छ । ३३ केजी सुन तस्करीका अभियुक्त र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा भएको आदेशमा असंगति देखिएपछि न्यायिक जिम्मेवारीबाट अलग गरिएका उच्च अदालतका आठ न्यायाधीशमाथि बृहद् छानबिन हुने भएको हो ।
न्यायापरिषद् बैठकले बृहत् छानबिनका लागि सर्वोच्च अदालतका तीनजना न्यायाधीश संलग्न समिति गठन गरेको छ । यसअघि सर्वोच्चकै न्यायाधीश ईश्वर खतिवडालाई छानविनको जिम्मा दिइएको थियो । खतिवडा समितिको ४५ दिन लामो अनुसन्धानपछि सुन प्रकरणमा बृहत् छानविनका लागि परिषद्समक्ष प्रस्ताव गरेपछि अर्को शक्तिशाली समिति बनाइएको हो ।
मुद्दाका सबै पक्षमाथि बृहत् जाँचबुझ गर्नुपर्ने अवस्था देखिएको भन्दै खतिवडा समितिले प्रस्ताव गरेपछि प्रधानन्यायाधीशसहित सोमबार बसेको परिषद् बैठकले सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा अधिकार सम्पन्न समिति गठन गरेका हो । समितिमा सर्वोच्चकै न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् ।
परिषद्ले सुन प्रकरणमा मुछिएका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेल, न्यायाधीशहरू नागेन्द्र लाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेशराज पौडेल, उमेशकुमार सिंह, जनक पाण्डे र साधुराम सापकोटामाथि जाँचबुझ आयोग ऐन २०२६ को अधिकार प्रयोग गरी बृहत् अनुसन्धानको अख्तियारी तोकेको जनाइएको छ ।


लाेकपाटी न्यूज

