शान्ति खल्बलाउने कसैलाई पनि छोड्दैनौं : महानिरीक्षक खनाल

asara 5
लाेकपाटी न्यूज

सुनसरी, १ चैत। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी जुनसुकै बाहनामा हुने अपराध र सार्वजनिक शान्ति सुरक्षा विरुद्धका कार्यमा तत्काल खरो रुपमा उत्रने बताएका छन्।

आसरा सुधार केन्द्रको धरान उपमहानगरपालिका–६ पानबारीस्थित नवनिर्मित शाखाको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उत्कृष्ट नमूनाको रुपमा सुधार केन्द्र स्थापना भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी र स्थानीय समुदाय मिलेमा अपराध न्यूनिकरण तथा लागूऔषध नियन्त्रण गर्न ठोस उपलब्धी हासिल हुने बताए। उर्जाशील युवाशक्ति दूव्र्यसनमा फसेर जीवन बर्बाद गर्नुको साथै समाजमा विभिन्न किसिमका जघन्य अपराध हुने देखिएको उल्लेख गर्दै उनले दूव्र्यसनको रोकथाम र नियन्त्रणको प्रभावकारी कार्यान्वयन जरुरी भएको बताए।

बाबुनानीहरुलाई अभिभावकले यथेष्ठ समय दिने, समाजमा युवामैत्री वातावरण सिर्जना गर्ने, उनीहरुलाई सामाजिक कार्यमा संलग्न गराउने, टोलटोलमा रोजगारी तथा उनीहरुका रुची अनुसारका रचनात्मक कार्यक्रमहरु समाज र राज्यले उपलब्ध गराउनुपर्ने चर्चा गर्दै उनले भने, “त्यस्ता कार्यक्रमको संचालन समेत युवाहरुलाई दिने हो भने कि त उनीहरु रोजगार कि त रचनात्मक कार्यमा व्यस्त भई कूलतबाट जोगिन सक्छन्।”

केन्द्रको नयाँ शाखा व्यवस्थित र पारदर्शी रुपमा संचालन होस भन्ने शुभेच्छा व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले अब यस्ता सुधार केन्द्रको आवश्यकता नहोस् भन्ने सदीक्षा समेत व्यक्त गरे। नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले दुव्र्यसनमा फसेका समूहलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने लक्ष्यका साथ नेपाल प्रहरीको पहलमा स्थापना भई नेपाल प्रहरी श्रीमती संघको सुपरीवेक्षणमा उक्त केन्द्र सञ्चालन हुने बताइन्।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले धन्यवाद ज्ञापन गर्दै सबैको तन, मन र धन सहयोगले केन्द्र निर्माण सम्भव भएको र यसको व्यवस्थापनमा समेत सबैको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।

सो अवसरमा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले आफ्नो मन्तव्य व्यक्त गर्दै केन्द्रको सञ्चालन तथा व्यवस्थापनमा आफ्नो सदैव साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।

स्थानीय जनसहभागितामा कूल २ करोड ३७ लाख रुपैयाँको लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो। जम्मा ३ तले उक्त भवनमा आवास कक्ष, बैठक कक्ष, टेलिभिजन कक्ष, जिम, योग तथा कक्षा सञ्चालनका लागि हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डायनिङ हल लगायत सुविधा छन् ।

एक साथ १ सय जनालाई आवासीय उपचार सेवा दिन सकिने उक्त नवनिर्मित केन्द्रले आवसीय भर्ना लिन सुरु गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्