गठबन्धनले हारेको इतिहास छैन : माधव नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

गण्डकी। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको बताएका छन्। पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित चुनावी सभामा उनले अहिलेको लोकतान्त्रिक र वामपन्थी गठबन्धन इतिहासको लामो कालखण्डमा खारिँदै आएको र प्रत्येक मोडमा आफ्नो विचार र व्यवहारबाट नै जनताको विश्वास जित्दै आएको उल्लेख गरे।

उनले भने, ‘गठबन्धन गरेर हामीले राम्रो र सही काम गरेका छौं। कांग्रेस र कम्युनिष्ट मिलेर नै विसं २००७ र विसं २०४६ सालको परिवर्तन गरेका हौं। विसं २०६२ को जनआन्दोलन सफल पारेर गणतन्त्र स्थापना गर्दै संविधानसभाको चुनाव र संविधान निर्माण गरेर घोषणा पनि गठबन्धनबाट नै सम्भव भएको हो।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दक्षिणपन्थी र संविधान विरोधी गठबन्धन गर्दै दुई/दुई पटक संविधानको गलत व्याख्या गरेर प्रधानमन्त्रीको अधिकारको दुरुपयोग गरेर संसद् विघटन गरेको आरोप लगाए। उनले पोखरालाई पर्यटकीय नगरमा विकास गर्ने, तालतलैयाको संरक्षण र बस्तीलाई राम्रो बनाउने, रोजगारी प्रवर्द्धनसहित शिक्षा, र स्वास्थ्यका क्षेत्रमा विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

भ्रष्टाचार नगर्ने, सुशासनको प्रवर्द्धन, जनताको मन जित्ने, विश्वास जित्ने र जनतासँग निरन्तर भेटघाट गरिरहनेसमेत उनले उम्मेदवारलाई सुझाव दिए। संसारलाई आकर्षित गर्नसक्ने पोखरा महानगरको प्रमुख/उपप्रमुख पद धेरै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले फेवाताललाई जोगाउने र अतिक्रमण हटाउनु आवश्यक रहेको स्पष्ट पारे। उनले तालको अतिक्रमण नहटाउँदासम्म पोखराको आफ्नो पहिचानलाई जोगाउन नसकिनेसमेत उल्लेख गरे। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्