संजय दुवाडी/ चितवन, २४ वैशाख। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै खैरहनी नगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ। नेपाली काँग्रेस सहितको गठबन्धनले खैरहनी नगरपालिकाका विभिन्न वडाहरूमा घरदैलो अभियानलाई तीव्रता दिएको हो। शनिबार खैरहनी १० मा गरिएको घरदैलो अभियानमा स्थानीयको व्यापक सहभागिता रहेको थियो।
घरदैलो कार्यक्रममा बोल्दै मेयर पदका उम्मेदवार शशी कुमार खनियाले आफू जनताको मेयर बन्न मैदानमा आएको बताए। उम्मेदवार खनियाले खैरहनी नगरपालिकाको १३ वटा वडाका समस्या र सम्भाव्यतासँग आफू परिचित रहेको भन्दै आफूलाई मतदाताको भावनामा खेल्ने कुनै छुट नभएको बताए। उनले स्पष्ट खाका र गुरुयोजनाको साथमा आफू समृद्ध र विकसित खैरहनी निर्माणका लागि चुनावी मैदानमा होमिएको बताए।
घरदैलो कार्यक्रममा बोल्दै उपप्रमुख पदका उम्मेदवार लक्ष्मी ढकालले आफूहरू नगरका जनताको सुख दुःखको साथी बन्दै नगर विकासमा होमिने प्रतिबद्धता व्यक्त गरिन्।
घरदैलो पछि आयोजित कोणसभामा बोल्दै वडाध्यक्ष पदका उम्मेदवार चन्द्र विक्रम चौधरीले आफू विजयी भए १० नम्बर वडालाई नमूना वडाको रूपमा विकास गर्ने बताए। उनले आफू ठुला भाषण दिन भन्दा पनि काममा विश्वास राख्ने भन्दै अबको ५ वर्ष आफूलाई वडाको नेतृत्व गर्ने अवसर दिए स्थानीयको मुहारमा खुसी छर्न लागिपर्ने बताए।
खैरहनी वडा नम्बर १० मा नेपाली काङ्ग्रेसको तर्फबाट वडाध्यक्ष पदमा चन्द्र विक्रम चौधरी, वडा सदस्यहरूमा खुल्लातर्फ नवराज पाठक र सुरेन्द्र चौधरी महिलातर्फ मिरा चौधरी र दलित महिलामा गेयन्ती पासवानको उम्मेदवारी रहेको छ। उक्त वडामा ५ हजार ३ सय ७८ मतदाता रहेका छन्।



लोकपाटी न्यूज

