संघीय लोकतान्त्रिक गणतन्त्र श्रमिक वर्गले लडेर ल्याएको हो : प्रचण्ड

Prachand
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मजदुर दिवसलाई प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रूपमा लिन श्रमजीवी समुदाय र क्रान्तिकारी कम्युनिष्टहरुलाई आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रूपमा सबै श्रमजीवी जनसमुदाय, सच्चा कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरहरूलाई विशेष आग्रह गर्दछु।’ श्रमिक वर्गको बलिदानीका कारण मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा आइपुगेको उनले उल्लेख गरेका छन्। प्रचण्डले संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवी वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए।

उनले आगामी निर्वाचनमा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी उत्पीडित जनसमुदायको मुख्य कार्यभार रहेको बताए। ‘आगामी निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजय गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी उत्पीडित जनसमुदायको आजको मुख्य कार्यभार हो,’ प्रचण्डले भनेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्