वृद्धभत्ता ओली गुटले ल्याएको होइन : माधव नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली विभिन्न व्यावसायिक समूहसँग मिलेमतो भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा नेपालले ओली प्रधानमन्त्री हुँदा यति र ओम्नीलगायतका समूहसँग मिलेमतोमा अनियमितता भएको सन्दर्भ उल्लेख गरेका हुन्।

नेपालले पूर्वप्रधानमन्त्री ओलीको र व्यावसायिक समूहहरूको नामै किटेर त्यस्तो आरोप लगाएका हुन्। ‘केपी ओली प्रधानमन्त्री हुँदा पनि केही काम गरे। के काम गरेभन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे, ओम्नी प्रकरणमा जनतालाई लुट्ने कामहरू गरे। लुट्ने, चुस्ने काम केपी ओलीले गरे, देश र जनताको सेवा गर्ने काम हामीले गर्‍यौं,’ उनले भने, ‘दुःख दिने काम उनले गरे, सुख दिने काम हामीले गर्‍यौं। हामीले राज्यको सम्पत्तिको सदुपयोग हुनुपर्छ भन्यौँ, उनले दुरुपयोग गर्नुपर्छ भन्ने विचार ल्याए।’

ओली प्रधानमन्त्री भएको बेला नेपाल तत्कालीन नेकपाका वरिष्ठ नेता थिए। आफूले इमानदारिता र निष्ठाको राजनीति गरे पनि ओलीले बेइमानी र जालझेलको राजनीति गर्नेसमेत उनको आरोप छ। नेपालले एमालेको तत्कालीन ९ महिने सरकारको पालामा सुरु भएका लोकप्रिय कार्यक्रममा केपी ओलीको कुनै भूमिका नरहेको पनि बताए। उनले वृद्ध भत्ता, सामाजिक सुरक्षा र आफ्नो गाउँ आफैँ बनाऊँ जस्ता लोकप्रिय कार्यक्रमको स्वामित्व एमालेले लिन नमिल्ने बताए।

‘२०५१ सालमा बुढापाकालाई भत्ता दिने सुरुवात हामीले नै गरेका हौं। हामीले नै अपागंता भएकाहरूलाई विशेष सहुलियत, एकल महिलालाई भत्ताको व्यवस्था गर्ने, जग्गा वितरण गर्नेजस्ता कामहरू हामीले नै सुरु गर्‍यौं,’ उनले भने, ‘ओली गुटले हामीले यी कार्यक्रमहरू ल्यायौं भन्दैछ रे। उनको त कुनै भूमिकै थिएन। त्यहाँ भूमिका थियो भने मनमोहन अधिकारीको थियो। माधव नेपालको थियो, भरतमोहन अधिकारीको थियो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्