काठमाडौं, २९ फागुन । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकका कारण मुलुक द्वन्द्वतर्फ धकेलिएको आरोप लागएका छन् । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई आपराधिक ठहर गर्दै प्रतिबन्ध लगाएकोप्रति इंगित गर्दै थापाले यस्तो बताएका हुन् ।
अर्घाखाँचीको सन्धिखर्कमा महिला संघले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता थापाले प्रधानमन्त्रीको सनकले देश नचल्ने दाबी गरे । उनले भने, ‘गिरिजाबाबुको नेतृत्वमा तत्कालिन माओवादीसँग सहमति गरेर देशमा शान्ति स्थापना भयो । अहिले केपी ओलीले फेरी देशलाई अशान्ति र द्वन्द्वतर्फ धकेल्न खोजे । सनकले देश चल्दैन ।’
उनले ओली सरकारले भष्टचारलाई रोक्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको र दुई तिहाइको दम्भले सरकार तानाशाही बन्नतर्फ लागेको आरोप लगाए । साथै संसदमा विपक्षी दल काँग्रेस छ भन्ने पनि हेक्का नराख्नु ओलीको लागि भुल हुन पनि बताए ।
देशलाई बचाइराख्न अब काँग्रेसले सशक्त भूमिकाकासाथ रचनात्मक तरिकाले अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।



लाेकपाटी न्यूज

