विवादमा तानिए एमालेका प्रत्यासी पौडेल र स्थापित

Sthapit&Paudel
लोकपाटी न्यूज

काठमाडौं। स्थानीय तहको निर्वाचनका लागि महानगरको टिकट पाएका एमालेका २ उम्मेदवार विवादमा तानिएका छन्। एमालेको तर्फबाट काठमाडौं महानगरको मेयरमा टिकट पाएका केशव स्थापित र पोखरा महानगरको मेयरमा टिकट पाएका दीपक पौडेल उम्मेदवारी दर्ता नगर्दै विवादमा तानिएका हुन्।

स्थापित र पौडेलले मेयरको टिकट पाएपछि सामाजिक सञ्जालमा त्यसको चर्को आलोचना भइरहेको छ। पोखराका मेयरका प्रत्यासी पौडेल केही वर्षअघि सिक्री चोरेको अभियोगमा प्रहरीले प्रक्राउ गरेको र काठमाडौंको मेयरका प्रत्यासीले महानगरमा कार्यरत एक महिलामाथि यौन दूराचार गरेको अभियोग लागेको छ।

स्थापितले काठमाडौं महानगरपालिकामा कार्यरत एक महिला कर्मचारीलाई यौन प्रस्ताव राखेको महिला कर्मचारीले यसअघि नै बताएकी थिइन्। आफूले स्थापितको यौन प्रस्ताव अस्वीकार गरेका कारण जागिरबाट हटाएको दावी गर्दै आएकी छिन्।

ती महिलाले २०५६ सालमा काठमाडौं महानगरका तात्कालीन मेयर स्थापितले आफूलाई शनिबार नगरकोट रिसोर्ट जाऔँ वा धुलिखेल जाऔँ, तिम्रो प्रमोशनको कुरा गर्नुछ भनेर मलाई फोन गरेको, ६ महिनासम्म लगातार मानसिक तनाव दिएको र उक्त प्रस्ताव नमानेपछि जागिरबाट हटाएको बताउँदै आएकी छिन्।

शनिबार एमाले पदाधिकारी बैठकले काठमाडौंको मेयरमा स्थापितलाई उठाउने निर्णय गरेसँगै स्थापितको चर्को आलोचना भइरहेको छ। हाल बागमती प्रदेश सभाका सदस्य रहेका स्थापित यसअघि प्रदेश मन्त्रीसमेत भएका थिए।

त्यसैगरि एमालेले पोखराबाट मेयरमा उठाउन लागेका नेता पौडेलले पोखराको सुन पसलबाट सिक्री निकालेर हिडेको अभियोग लागेको छ। सिक्री झिकेर हिँडेपछि प्रहरी आएर विवाद समाधान गरेको भन्दै उनको भिडियो फुटेजसमेत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

एमालेले पोखरामा वर्तमान उपमेयर एवं पार्टी केन्द्रीय सदस्य मञ्जु गुरुङलाई उपमेयरमा दोहोर्‍याउने निर्णय गर्दै मेयरमा प्रदेश सदस्य पौडेललाई अघि सारेको छ। सिनियर नेतालाई मेयर दिएर महिलालाई उपमेयर बनाएको भन्दै पोखराका एमाले कार्यकर्ताले विरोध गरिरहेका छन्।

यता गुरुङले समेत आफू उपमेयरमा चुनाव नलड्ने बताएकी छिन्। एमालेले विवादित पात्रलाई उम्मेदवारका रुपमा अघि सारेपछि एमालेभित्र चर्को असन्तुष्टि देखिएको छ।