काठमाडौं, २८ फागुन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, मन्त्रिपरिषद् हेरफेरबारे छलफल भएको छ । आज बिहान पनि प्रधानमन्त्री र मेरो यस विषयमा कुरा भएको थियो । आवश्यक परे छलफल गरेर सामान्य हेरफेर गर्न सकिन्छ ।
कुराकानीका क्रममा प्रचण्डले थपे, मन्त्रीहरुको काम र क्रियाकलापको विषयमा तपाईंले मूल्यांकन गर्नुभएको होला । तपाईंको अधिकार क्षेत्रभित्रको कुरा भएकोले आवश्यक मूल्यांकनका आधारमा छलफल गरेर हेरफेर गर्न सकिन्छ भनेर मैले प्रधानमन्त्रीज्यूलाई भनेको छु ।
संघले प्रदेशलाई अधिकार दिएन भन्ने आरोपको सम्बन्धमा अध्यक्ष प्रचण्डले भने, ूसंविधानको मर्म र भावना अनुसार काम गर्ने हो । संघले अधिकार दिने र खोस्ने कुरा नै होइन । संविधान अनुसार नै कामहरु हुनुपर्छ भन्ने हाम्रो मान्यत हो ।
सिके राउतको प्रसंगमा बोल्दै प्रचण्डले पहिले लिएका नीतिहरु छोड्ने सर्तमा नै राउतसँग ११ बुँदे सहमति भएको बताए । उनले भने, सरकार र पार्टीको ध्यान भनेको पृथकतावादी आन्दोलनमा लागेका साथीहरुलाई मुलधारको राजनीतिमा ल्याउने र संविधानको मातहतमा ल्याउने काम हो । त्यही प्रक्रिया अन्र्तगत रहेर स्वतन्त्र मधेस आन्दोलनका अगुवा राउतसँग सहमति भएको हो । उहाँलाई आफ्ना कार्यकर्तालाई सम्झाउन समय लागेको होला । यस विषयमा हतार गर्न जरुरी छैन । सरकारले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वाधिनताका विषयमा कसैसँग सहमति गर्दैन ।
पार्टीभित्र उठेका केही असन्तुष्ट आवाजहरुलाई स्थायी कमिटी बैठकमा छलफल गरेर सम्बोधन गरिने उनले जानकारी दिए ।



लाेकपाटी न्यूज

