नवलपरासी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिके राउतसँग सरकारले गरेको सम्झौताले विखण्डनकारी शक्तिलाई मान्यता दिएका कारण जनकपुरमा स्वतन्त्र मधेशको नारा लागेको बताएका छन्।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं.–१ नवलपरासीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले जनकपुरमा सिके राउतको उपस्थितिमा स्वतन्त्र मधेशको नारा लागेको विषयमा सरकारले जवाफ दिनुपर्ने बताए।
वरिष्ठ नेता पौडेलले भने, ‘सिके राउतसँग सरकारले गरेको सम्झौताको भाषाका बारेमा सरकार बोल्दैन। जनकपुर पुगेर सिके राउत स्वतन्त्र मधेशको नारा लगाउछन्। अनि आम नागरिकले त्यो सम्झौताले स्वतन्त्र मधेशको नारा लगाउन छुट दिएको भनेर नबुझे के बुझ्ने ?’
पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक राष्ट्रवाद शब्दको दुरुपयोग गरेको समेत आरोप लगाए। उनले भने, ‘केपी ओलीले आफू जत्तिको राष्ट्रवादी कोही नभएको ढोङ पिटेका थिए। आज उनका गतिविधिले के देखाइरहेको छ ? अब मुलुकलाई कथित राष्ट्रवादी नारा लगाउने मान्छे होइन, देशभक्त मान्छे चाहिएको छ।’
कम्युनिष्ट सरकारका कारण एक वर्षको समय बेकाममा बितेको पौडेलले तर्क गरे। उनले भने, ‘गएको एक वर्षमा मुलुकलाई समृद्ध बनाउने सबैभन्दा उत्तम समय थियो। तर, केपी ओलीजीले त्यो समयको दुरुपयोग गर्नुभयो। एक वर्षको समय वर्वाद भयो। ओलीले एक वर्ष पुगेको अवसरमा विकासको पूर्वाधारको बसाएको भन्नुभयो। तर, नेपालमा विकासको जग नेपाली कांग्रेसले बसाएको हो। त्यस्त्रो माओवादीको द्धन्द, राजनीतिक अस्थीरता हुँदा पनि कांग्रेसले विकासको आधारशिला खडा गरेको हो। तर, आज दुईतिहाईको सरकार भएका समयमा खै के भएको छ, उहाँहरुले केको जग बसाउनुभयो ?’
विगतमा भन्दा ओली नेतृत्वको दुई तिहाईको सरकारका पालामा भ्रष्टाचार बढेको बताउदै उनले भने, ‘पहिले पहिले यति लाखको भ्रष्टाचार भयो भन्ने सुनिन्थ्यो। तर, अहिले अर्बको भ्रष्टाचारको कुरा आउछन्। कम्युनिष्टहरुको बहुमत भएको लेखा समितिले वाइडबडीमा भ्रष्टचार भएको तथ्य सार्वजानिक गरेको छ। चिनी काण्ड, सुन काण्ड अहिले पञ्चायतकालमा जस्तै काण्डैकाण्डको देश भएको छ।’
कम्युनिष्टहरु राम्रा नारा दिएर जनतालाई ठगेर लोकतन्त्रको भ¥याङ चढेर अधिनायकवाद र साम्यवादको मन्दिरमा पुग्ने योजनामा रहेको पौडेलको भनाइ थियो। उनले लोकतन्त्रको भ¥याङ चढेर अधिनायवाद र साम्यवादको मन्दिरमा पुग्ने योजना अन्तरगत भ्रष्टाचारमार्फत आर्जेको पैसाको खोलो बगाएर सत्ता कब्जा गर्ने योजनामा रहेको आरोप लगाए।



लाेकपाटी न्यूज

