वेदनाथ ढकाल/ललितपुर, २८ फागुन। गत साता खानेपानी मन्त्री बिना मगरले वाटर एटीएमको उद्घाटन गरेपछि एटिएम चर्चामा छ। कतिले मेलम्चीको काम द्रूत गतिमा सक्नुपर्नेमा मन्त्री मगर वाटर एटिएमतिर लागेको भन्दै आलोचना गर्नसमेत भ्याएका छन्। तर, प्रविधिमा चासों राख्नेहरुका लागि वाटर एटीएम खोजको विषय बन्न थालेको छ।
नेपालमा पहिलोपटक वाटर एटीएम सञ्चालनमा आएको हो। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा पहिलो पटक सञ्चालनमा ल्याइएको उक्त एटीएमबाट उपभोक्तालाई रु. ५ रुपैँयामै एक लिटर पानी खुवाउने लक्ष्य रहेको बोर्डका वरिष्ठ वित्त अधिकृत रामचन्द्र ढकालले जानकारी दिए।
उनले वाटर एटीएममा शुद्ध पानी बनाउनका लागि आवश्यक सबै किसिमका फिल्टर प्रणली जडान गरिएको बताउँदै काठमाडौं उपत्यकाभित्र २० ठाउँमा सो प्रकृतिका एटीएम राख्ने योजनामा रहेको बताए। ढकालका अनुसार उक्त योजनामा पर्यटकीय क्षेत्र र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताल लगायतका अस्पतालमा बढी बिरामीको चाप हुने र ठमेल, मङ्गल बजार लगायतका ठाउँमा बढी पर्यटकको चाप हुने हुनाले त्यस्ता ठाउँको अध्ययन गरेर मात्र काम गर्ने उनले प्रष्ट्याए।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको मातहतमा सो परियोजना सुरु गरिएकोले सहज हुने रहेछ भनेर निजीस्तरबाट कसैले यस्तो वाटर एटीएम राख्न नमिल्ने र राख्न चाहेको खण्डमा बोर्डबाट आधिकारिक स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको समेत ढकाल बताउँछन्। ‘नीजि क्षेत्रले बोर्डबाट स्वीकृति लिएर राख्न सक्छ’ ढकालले भने।
खानेपानी मन्त्री बिना मगरले मंगलबार वाटर एटीएमको उद्घाटन गरेकी हुन्। उद्घाटनपछि उनले एटीएमबाट पानी झारेर पिएकी थिइन्। ललितपुर महानगरपालिकाको कम्पाउण्डमा राखिएको एटिएम १० लाख लागतमा निर्माण गरिएको हो। वाटर एटीएम दैनिक जीवनका सबै उपभोग्य वस्तुलाई प्रविधिसँग जोड्न सकिन्छ भन्ने बलियो सन्देश पनि हो।
प्रविधिको प्रयोगबाट कम लागतमा आधुनिक, गुणस्तर र वातावरणमैत्री काम गर्न सकिन्छ, वाटर एटीएम त्यसको एउटा कडी हो’ काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीव राणा भन्छन्, ‘वाटर एटीएमबाट सस्तोमा पानी पिउन सकिन्छ, यो सजिलो र वातावरणमैत्री पनि छ। मूख्यतः आन्तरिक र बाह्य पर्यटकका लागि बढी उपयोगी ठानेर यसलाई प्रयोगमा ल्याएका हौं। अरु ठाउँमा पनि क्रमशः बिस्तार गर्छौं।’
वाटर एटीएमको उद्घाटन गर्दै मन्त्री बिना मगरले भनिन्, ‘हामीले किनेर खाने बोत्लको पानी कहिलेकाँही त्यसै फालिरहेका हुन्छौं । जति चाहिने हो, त्यति पानी पिउनका लागि वाटर एटीएम एकदमै उपयोगी छ। यसमा कुनै झण्झट पनि छैन। वाटर एटीएमले एक गिलास पानीका लागि सिङ्गो बोत्तल किन्नुपर्ने बाध्यता अन्त्य गर्दछ, धेरै प्यासीहरुको प्यास मेटाउन वाटर एटीएम सफल हुनेछ।’
वाटर एटीएमलाई नेपालीमा पधेंरो नामाकरण गरिएको छ। उक्त एटीएमबाट २ सय मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ। २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैंया र एक लिटर पानीको मूल्य १० रुपैंया राखिएको छ। बोर्डले रु. ५ मा नै एक लिटर पानी खुवाउने लक्ष्य राखेको छ। उक्त एटीएममा दुई रुपैंयाको क्वाइन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था गरिएको छ।
बोर्डले सुपिङ इन्टरनेशनल कम्पनीसँग सहकार्य गरेर यस्तो प्रविधि भित्र्याएको हो। वाटर एटिएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौता समेत भएको थियो। तत्काल नमूना परीक्षणका रुपमा ललितपुरमा सुरु गरिएको एटीएम देशका सबै शहरहरुमा बिस्तार गर्न सकिने वित्त अधिकृत ढकाल बताउँछन्। ‘वाटर एटीएम देशैभरि बिस्तार गर्न सकिन्छ, मूख्य शहरमा बिस्तार गर्दा पर्यटक आकर्षण पनि बढ्छ’ उनले भने।
विद्यार्थीका लागि समेत वाटर एटीएम उपयोगी छ। ‘तिर्खा लाग्दा पानीकै लागि २० रुपैंया तिनुपर्थ्र्यो। २ रुपैंयामा पानी पिउन पाउँदा सबैभन्दा सजिलो हामीलाई हुन्छ’ क्यापिटल हिल कलेज टेकुमा अध्ययनरत अञ्जना भण्डारी भन्छिन्, ‘वाटर एटीएमको समाचार सुन्दा खुसी लागेको छ। सबै कलेजमा पनि यसको व्यवस्था गर्दा राम्रो हुन्थ्यो।’ त्रिचन्द कलेजमा अध्ययनरत गणेश शाह वाटर एटीएम तराईका जिल्लामा झनै उपयोगी हुनसक्ने बताउँछन्।
नेपाली पर्यटकीय दृष्टिले उत्कृष्ट गन्तव्य नै मानिन्छ। काठमाडौंका ठमेल, असन, बसन्तपुर, बौद्ध, दरबारमार्ग लगायतका क्षेत्रमा बाह्य पर्यटकको घुँइचो लाग्छ। यस्ता ठाउँहरुमा वाटर एटीएमले पर्यटक तान्न थप बल मिल्छ। काठमाडौं मात्रै नभएर भरतपुर, पोखरा, विराटनगर लगायत देशका प्रमूख शहरहरुमा उक्त एटीएम जडान गर्न सकिन्छ।
वाटर एटीएममा कुनै झण्झट छैन। अहिले बोर्डले परीक्षणका रुपमा सुरु गरे पनि यसलाई देशका मूख्य शहरहरुमा बिस्तार गर्नु राम्रो हुन्छ। पछिल्लो समयमा नेपालमा आन्तरिक पर्यटकको चाप पनि त्यत्तिकै बढ्दै गएको छ। हप्ताभरि दुख गर्ने र शुक्रबार वा शनिबार एक दिन ‘फ्रेस’ हुने कल्चर नेपालमा पनि बढ्दै गएको छ। दिउँसोको टन्टलापुर घाममा कहिले त सजिलै मिनरल वाटर भेट्न मुस्किल पर्छ। भेटिहालेमा १ लिटर पानीका लागि २० देखि ३० रुपैंयासम्म तिर्नुपर्छ। पानी पिइसकेपछि बोत्तर कहाँ फाल्ने ? यो पनि एउटा समस्याको विषय रहँदै आएको छ।
शहरका मूख्य चोकहरुमा वाटर एटीएम राख्न सकियो भने यसले बटुवाका लागि निकै उपयोगी काम गर्नेछ। एटीएमको ‘मेन्टिनेन्स’का लागि पनि कुनै कठिनाई छैन। एटीएममा जम्मा भएकै पैसाले पानीको स्रोत जुटाउने, एटीएम बिग्रेमा मर्मत गर्ने, त्यसको सरसफाइ गर्नेजस्ता काम गर्न सकिन्छ। बैंकिङ कारोबारमा भुक्तभोगी हुँदै गएका नेपालीका लागि यसको प्रयोग पनि नौलो हुँदैन। तर, बुढाबुढी र केटाकेटीका लागि पहिलोपटक एटीएमको प्रयोगबारे सिकाउनुपर्छ, जुन कुरा एटीएमकै लागि खटिएका मान्छेले गर्न सक्छन्।
हामीकहाँ कुनै पनि कुराको परीक्षण नहुँदै विरोध गर्ने संस्कृति पनि छ, यो राम्रो होइन। मेलम्ची नेपालको राष्ट्रिय गौरवको आयोजना हो, त्यो छिट्टो आउनुपर्छ। तर, मेलम्ची नआइञ्जेल अरु केही पनि गर्नु हुँदैन भन्ने सोंच पनि राम्रो होइन। जमाना प्रविधिको छ, घरदेखि अफिससम्म, बिहान उठेदेखि राति सुत्ने बेलासम्म हामी प्रविधिमै अभ्यस्त छौं। तसर्थ, वाटर एटीएमलाई पनि यसरी नै लिनु राम्रो हुन्छ।



लाेकपाटी न्यूज

