मतदाता हुन के चाहिन्छ?

Election pic
लोकपाटी न्यूज

काठमाडौं। सरकारले ३० बैशाखमा स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै देश चुनावमय हुँदै गएको छ। राजनीतिक दल र आंकाक्षीहरु चुनावी नारा र एजेण्डा लिएर गाउँगाउँ पुग्न थालिसकेका छन्।

दिनहुँजसो भइरहेका चुनावी कार्यक्रमले गाउँ तहसम्मै राजनीतिक सरगर्मी बढ्दै गएको छ। निर्वाचनमा एकरदुई मतले उम्मेदवारको भविष्य निर्धारण गर्छ। जसका लागि अनकौं जुक्ति अपनाएर भए पनि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्ने प्रयास गर्छन्।

हरेक मतदाताले स्थानीय तहको निर्वाचनमा सात वटा पदमा मतदान गर्नुपर्छ। जसमा स्थानीय तहका प्रमुख, उपप्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष, महिला वडा सदस्य र दलित महिला सदस्यमा एक-एक जना र खुला वडा सदस्यमा दुई जना पर्दछन्।

कस्ता व्यक्तिलाई मतदाता भनिन्छ ?

निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले तयार गरेको अन्तिम मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई मतदाता भनिन्छ।

स्थानीय तहको मतदाता को हुन्छ?

सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम रहेको व्यक्ति मतदाता हुन पाउँछन्।

यता निर्वाचन आयोगले पनि स्थानीय तहको निर्वाचनमा कस्ता व्यक्तिले मतदान गर्न पाउँछन् भनेर व्यवस्था निर्धारण गरेको छ। स्थानीय निर्वाचनमा मतदान गर्न १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको हुनुपर्ने व्यवस्था छ।निर्वाचन आयोगले आगामी वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताले स्थानीय निर्वाचनमा मतदान गर्न पाउने निर्णय गरेको छ। विगतको अभ्यासमा निर्वाचन मिति घोषणा भएको मितिलाई आधार मान्ने गरिएको आयोगका अधिकारीहरू बताउँछन्।

उमेरको योग्यता पुगेका कारण मात्रै मतदानमा भाग लिन पाइँदैन। मतदानमा सहभागी हुन निर्वाचन आयोगले सङ्कलन गर्ने मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ र मतदाता परिचयपत्र अनिवार्य आवश्यक हुन्छ।आयोगले निर्वाचनको मिति घोषणा हुनु अघिसम्म यस्तो नामावली हरेक जिल्लामा रहेका उसको कार्यालयबाट सङ्कलन गर्ने गरेको छ। एक पटक नाम समावेश भएको व्यक्तिले हरेक निर्वाचनमा नाम समावेश गरिरहन आवश्यक पर्दैन। तर निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र मतदान स्थलमा अनिवार्य लिएर जानुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्