काभ्रे, फागुन २५ । भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आर्थिक सशक्तिकरणले नै महिला अधिकार स्थापित हुने बताएकी छन् । १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा काभ्रे जिल्लाका स्थानीय तहका उपप्रमुख महिलाहरूलाई सम्मान गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।
परोपकार प्राथमिक उपचार केन्द्र काभ्रेले आयोजना गरेको सम्मान कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमलाई शनिबार धुलिखेलमा सम्बोधन गर्दै मन्त्री अर्यालले हिजो र आजको महिला आन्दोलनको समिक्षा गर्नेबेला आएको समेत बताइन् ।
महिला आन्दोलनको समिक्षा गर्दै हरेक क्षेत्रमा आर्थिक रूपमा सशक्तिकरण गर्नुपर्ने मन्त्री अर्यालले बताइन् । ‘हिजोको महिला आन्दोलन र आजको महिला आन्दोलन कसरी अगाडी बढिरहेको छ रु हिजोको महिला र आजको महिलाबीचमा के फरक छ भनेर समिक्षा गर्ने बेला आएको छ’, मन्त्री अर्यालले भनिन्, ‘अबको महिला आन्दोलन हरेक क्षेत्रमा महिलाको आर्थिक सशक्तिकरणको हो । सबै रूपमा स्वतन्त्रता प्राप्त गर्ने भनेको पूर्णरूपमा आर्थिक सशक्तिकरण हो । तपाइहरू त्यसतर्फ लाग्नुस् ।’
आर्थिक अवस्था सुधारका निम्ति सिप सिकाउने, उत्पादनमा जोड्ने, उद्यमशिलतातर्फ लाग्न महिलाहरूलाई मन्त्री अर्यालको आग्रह थियो । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूलाई मन्त्री अर्यालले महिला लगायत लक्षित समुदायको कार्यक्रम निर्माण गरी सीप सिकाएर आर्थिक आयआर्यजनर्तफ लगाउन समेत आग्रह गरे । मन्त्री अर्यालले अब यो दिएनन् त्यो दिएनन भनेर बस्ने दिन नभएर महिलाहरू पनि बाँड्ने ठाउँमा पुगेकाले त्यस अवसरको सकारात्मक रूपमा सदुपयोग गर्नुपर्ने बताइन् ।
मन्त्री अर्यालले आफ्नो ठाउँको विकासका निम्ती लक्षित कार्यक्रम बनाएर लाग्न समेत आग्रह गरिन् । स्थानीय पालिकाका प्रमुख, पालिका, पार्टी सबैको सहयोग लिएर अगाडी बढ्न मन्त्री अर्यालले स्थानीय तहका प्रमुखहरूलाई आग्रह गरिन् ।
अहिले राज्यले विभिन्न निकायमा आरक्षणको व्यवस्था गरेपनि त्यो व्यवस्था लामो समयसम्म नरहने हुनाले अब महिलाहरूले हरेक क्षेत्रमा आफुलाई खुला प्रतिस्पर्धाका निम्ति समेत तयार गर्नुपर्ने मन्त्री अर्यालले बताइन् । प्राप्त अवसरलाई सदुपयोग गर्दै भोलीका लागि आफुलाई तयार गर्न उनले आग्रह गरिन् । ‘सधैं आरक्षणको व्यवस्था हँुदैन । यो लामो समय रहँदैन । अब खुला प्रतिस्पर्धामा महिलाहरूले आफ्नो सामथ्र्य र क्षमताको विकास गर्नुपर्छ । त्यसको तयारी अहिलेदेखि नै गर्नुस्’, मन्त्री अर्यालले भनिन् ।
आफ्नो क्षमता, भूमिकाले स्थान बनाउने भन्दै उनले व्यवहार, कामले महिलाले काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न आग्रह गरिन् । इतिहासको कालखण्ड हेर्दा हिजोपनि महिला कमजोर नभएको भन्दै मन्त्री अर्यालले हिजोका दिनमा पनि महिला धन, बल र बुद्धिका क्षेत्रमा महिला अगाडी रहेको र आजका दिनमा पनि अगाडी बढिरहेको बताइन् ।
अर्को एक प्रसङ्गमा मन्त्री अर्यालले मुलुकमा संघीयता लागु भएर ३ तहको सरकारको परिकल्पना गरिरहँदा यी ३ तहकै समन्वयात्मक भूमिकाले मात्रै मुलुक अगाडी बढ्न सक्ने बताइन् । सरकारले अगाडी बढाएको ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा पुरा गर्न तीनै तहको समन्वयात्मक भूमिकाको जरूरी रहेको उनको भनाइ थियो । ‘सुखी नेपाली र समृद्ध नेपाल बनाउनका निम्ती यी तिनै तहको समन्वयबीना सम्भव छैन’, उनले भनिन् ।
यसैगरी मन्त्री अर्यालले भूमिसँग हरेकको चासो रहेको भन्दै आफुले ‘पोलिशी’ बनाएर मात्र अगाडी बढ्ने योजना रहेको बताइन् । समग्र भूमीको व्यवस्थापन अहिलेको आवश्यकता रहेको भन्दै मन्त्री अर्यालले सरकारले पहिलोपटक भू–उपयोग ऐन अगाडी बढाएको र त्यसले जमिनको उपयोगीताको आधारमा ९ प्रकारको जमिनको वर्गीकरण गर्ने बताइन् ।
‘भुमी ऐनले ९ प्रकारको भूमिको परिकल्पना गरेको छ । कृषियोग्य जमिनको अधिकतम प्रयोग गरेर उत्पादकत्व बढाउने । खेतियोग्य जमिनलाई कृषियोग्य उत्पादनमा लगाउनका निम्ती सरकारले प्रेरित गर्ने’, उनले भनिन् ।
सरकारले भूमी बैंकको परिकल्पना गरेको भन्दै मन्त्री अर्यालले भूमिको वैज्ञानिक हिसाबले वर्गीकरण र प्रयोग गर्नेगरी सरकार अगाडी बढेको बताइन । ‘किसानले आफुले कमाउन सक्ने जमिन कमाउने, बाँकी कमाउन नसकेको जमिन भूमी बैंकमा राख्ने र त्यसबापत सरकारले किसानलाई सहुलियत दिने परिकल्पना सरकारले गरेको छ’, मन्त्री अर्यालले भन्नुभयो । किसानले आफुले चाहेको बेलामा उक्त भूमी बैंकबाट निकालेर प्रयोग पनि गर्न सक्ने मन्त्री अर्यालले बताइन् ।
अहिलेको सबैभन्दा ठूलो चुनौती गरिबी र बेरोजगारी भएको भन्दै उनले मान्छेको जीवनस्तर सुधार गर्न सहकारीको मोडेलअनुसार सामुहिकतामा उत्पादनमा सामेल गरेर अगाडी बढ्ने बताइन् । मन्त्रालयले पहिलो नम्बरमा गरिब पहिचान गर्न लागेको भन्दै उनले गरिब पहिचान नगरिकन गरिबी निवारण गर्न नसकिने बताइन् ।
यसैगरी अर्को एक प्रसंगमा मन्त्री अर्यालले सरकारले विद्रोही गतिविधि गरिरहेको सिके राउतको समुहलाई शान्तिपूर्ण राजनीतिको बाटोमा ल्याएर मुलुकको शान्ति स्थापनाको कार्यमा ल्याएर उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा समेत गरिन् । यसैगरी मन्त्री अर्यालले अहिले भूमिगत गतिविधि सञ्चालन गर्दै आएको नेकपा ‘विप्लव’ समुह पनि यसबारेमा आउने बताइन् । विप्लव समुह केही समयमै शान्तिपूर्ण राजनीतिमा आउने समेत उनको विश्वास थियो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद नविना लामा, धुलिखेल नगरपालिकाका प्रमुख अशोक बेञ्जु, प्रदेश नम्बर ३ का सांसदहरू चन्द्र लामा, रत्न ढकाल, कमला लामा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका नेता नारायण पाण्डे, नेपाली काँग्रेस काभ्रेका नेता सिबी लामाले कार्यक्रममा सहभागी उपप्रमुखहरूलाई आगामी निर्वाचनमा पालिकाहरूको प्रमुखको तयारी गर्न आग्रह गरिन्। त्यसका निम्ती महिलाहरूले आफ्नो क्षमता र कार्यकुशलता पनि देखाउनुपर्ने उनीहरूले बताइन् ।
हिजोका दिनमा गरेको लगानी, संघर्षका कारण आज धेरै महिलाहरू राष्ट्रपति देखी राज्यका महत्वपूर्ण निकायमा पुग्न सफल भएको भन्दै तर त्यो पर्याप्त नभएको उनहरूको भनाइ थियो । विशेषगरी आगामी निर्वाचनमा पालिकाहरूको प्रमुखको तयारीका निम्ती उपप्रमुख महिलाहरूले आज पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न, आर्थिक रूपमा नफस्न, क्षमताको विकास गर्न उनिहरूको आग्रह थियो ।



लाेकपाटी न्यूज

