पोखरा, २५ फागुन । लेखक खगराज बरालद्वारा लिखित ‘सिकाउने शैली’ पुस्तकमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। पुछारसिटे अभियानको आयोजनामा सो पुस्तकमाथि परिचर्चा सम्पन्न भएको हो।
शिक्षा क्षेत्रमा लामो समयको संलग्नताका क्रममा प्राप्त ज्ञान र विषयवस्तुलाई समेटेर संस्मरणात्मक शैलीमा सो पुस्तक तयार गरिएको छ। शिक्षकले शिक्षणका क्रममा कक्षामा विद्यार्थीसँग अभ्यास गरेका शैलीलाई पुस्तकमा आकर्षक तरिकाले प्रस्तुत गरिएको छ। आफू शिक्षक हुँदा, विद्यालय निरीक्षक हुँदा र शिक्षा मन्त्रालयका विभिन्न तहमा कार्यरत रहँदाका अनुभवहरू पुस्तकमा समेटिएको छ।
अबको शिक्षा विषयवस्तुको ज्ञान दिनुभन्दा पनि विषयवस्तुलाई प्रभावकारी ढङ्गले शिक्षण गर्ने शैलीमा जोड दिने किसिमको हुनुपर्छ भन्ने कुरामा पुस्तकले जोड दिएको छ। शिक्षक नै समाजको अगुवा भएकाले शिक्षक पाठ्यक्रम, पाठ्यवस्तु, स्थानीय जीवनशैली आदिमा पूर्ण जानकार हुनुपर्ने र पढाउनेभन्दा पनि सिकाउने कुरामा जोड दिनुपर्नेमा पुस्तकले जोड दिएको छ।
शिक्षामा राजनीतिकरणका नकारात्मक प्रभाव, पाठ्यक्रम निर्माणका त्रुटि, कक्षा शिक्षणका कमजोरी एवं शिक्षक स्वयंमा व्यावसायिकताको अभाव आदिले लामो समयदेखि शिक्षणमा एउटै शैली कायम रहेको र अपेक्षित उपलब्धि हासिल हुन नसकेको विषय पुस्तकले उठाएको छ।
बहस तथा अन्तक्र्रियात्मक शैलीमा सञ्चालित कार्यक्रममा शिक्षालाई प्रभावकारी बनाउने सन्दर्भमा पुस्तकमा समावेश गरिएका विषयमा आधारित भई छलफल गरिएको थियो। पुस्तकमा शिक्षकले कक्षामा प्रस्तुत गरेका अत्यन्त प्रभावकारी शिक्षण शैलीलाई समावेश गरिएको छ।
शिक्षा नीति, पाठ्यक्रम, शिक्षक तालिम र कक्षा शिक्षणका यावत् विषयमा आधारित रही कार्यक्रम सम्पन्न भयो। अन्तर्किया कार्यक्रममा सहभागीहरूले शिक्षासँग सम्बन्धित विविध जिज्ञासाहरू राखेका थिए। ती जिज्ञासामाथि लेखकले आफ्ना विचार प्रस्तुत गरेका थिए।
पुस्तकसँग सम्बन्धित विविध विषयमा बहस गर्ने कार्यमा सञ्जीव पौडेलले सहजीकरण गरेका थिए। अभियानका अभियन्ता मोहन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सुरज उपाध्यायले र धन्यवाद ज्ञापन वसन्त विनोदले गरेका थिए।



लाेकपाटी न्यूज

