भारतमा आइतबारदेखि केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार भएन

लोकपाटी न्यूज

काठमाडौं। भारतको झारखण्डस्थि आइतबारदेखि केबलकारमा अड्किएका १५ जनाको अर्झै उद्धार हुन सकेको छैन। भारतीय सञ्चारमाध्यामका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा दुई केबलकार आइतबार साँझ एकआपसमा ठोक्किएका थिए।

त्योसँगै अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए। भारतीय सञ्चारमाध्यामका अनुसार आइतबारदेखि केबलकारमा अड्डिएकाहरुको मंगलबार बिहानसम्म पनि उद्धार नहुनसकेको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेको छ।

५ वटा ट्रलीमा अहिले पनि १५ जना अड्किएका छन्। जसमा पर्यटकसहित एक जना एयरफोर्सका जवान छन्। हालसम्म ट्रलीबाट खसेर तीन जनाको मृत्यु भइसकेको छ। अड्किएका पर्यटकको उद्धार गर्ने क्रममा एयरफोर्सका एक जना जवान पनि ट्रलीमा फसेका छन्।

खबरअनुसार २० नम्बर ट्रलीमा बच्चासहित ५ जना, १९ नम्बर र ७ नम्बर ट्रलीमा २-२ जना, ६ नम्बर ट्रलीमा २ बच्चासहित ५ जना र ४ नम्बर ट्रलीमा एयरफोर्सका जवान फसेका छन्।

सुरक्षाकर्मीले हालसम्म ट्रलीमा फसेका ४८ मध्ये ३३ जनाको उद्धार गरेको छ। केबलकारमा रोकिएकाहरूलाई ड्रोनको सहायताले खाना र पानी पुर्‍याइएको छ। भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ। नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।