काठमाडौं। सत्तारूढ गठबन्धनले आगामी स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेसँग देशका महानगरहरूमा उम्मेदवार को बन्ला भन्ने चर्चा बढ्न थालेको छ। चुनावी सरगर्मीसँगै काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज र विराटनगर महानगरमा मेयरका आकांक्षीहरू पनि बढ्दै गएका छन्।
सत्तारूढ दल नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा चुनावी गठबन्धन गर्ने निर्णयसँगै देशको सबैभन्दा ठूलो महानगर पोखरामा पनि मेयरका प्रत्यासीहरूको चर्चा हुन थालेको छ। मेयरका आकांक्षीमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू देखिएका छन्।
सत्तारूढ गठबन्धनबिच चुनावी तालमेल कसरी होला भन्ने चासोका बिच पोखरा महानगर एकीकृत समाजवादीको भागमा पर्ने चर्चा चल्न थालेको छ। महानगरमा केन्द्रीय तहबाटै गठबन्धन हुने भएकाले पोखरा महानगर एकीकृत समाजवादीकै भागमा पर्ने सम्भावना बलियो देखिएको छ। भागबण्डामा महानगर आफ्नो भागमा पर्ने आंकलनका बिच महानगरको मेयरमा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य श्रीनाथ अधिकारीको बलियो दावेदारी देखिएको छ।
बराल पोखराका पूराना वामपन्थी नेता मानिन्छन्। हालसम्म व्यक्तिगत निष्ठामाथि कुनै आक्षेप नलागेका कारण उनी सबैबिच लोकप्रिय पनि छन्। ४० वर्ष लामो राजनीतिक जीवनमा दौरानमा उनले थुप्रै घुम्ती मोडहरू पार गरे पनि एमालेमा देखिएको व्यक्तिवादका कारण पछिल्लो समय उनी किनारामा धकेलिँदै गएका थिए। तर, नेकपा एमाले विभाजनसँगै एकीकृत समाजवादीतर्फ उभिएका उनको राजनीतिक जीवनमा फेरि एउटा अवसर आएको आंकलन गरिएको छ।
पोखराको आर्बामा जन्मिएका बराल पोखरेलीका साझा नेताका रूपमा परिचित छन्। जहाँ समस्या, त्यहाँ बरालको आत्मीय अभिभावकत्व भएका कारण पनि उनी पोखरेलीबिच स्थापित छन्। यद्यपि, भर्खरै स्थापित पार्टी भएकाले महानगरमा उनले एक्लै चुनाव जित्नसक्ने अवस्था भने छैन।
पोखरा महानगरमा विगतका निर्वाचनहरूमा एमाले नै बलियो देखिँदै आएको छ। त्यसकै कारण हुनुपर्छ देशभरि गठबन्धनको सकस भइरहँदा पनि कास्कीमा गठबन्धनका दलहरू एमालेविरूद्ध एकठिक्का भएर उभिएका छन्। अरू महानगरमा भागबण्डा कसरी गर्ने भन्नेबारे विवाद भइरहँदा कास्कीमा कांग्रेस र माओवादीका नेताहरूसमेत बरालको पक्षमा लचिलो देखिएका छन्।
बरालका दृष्टिमा आजको विकसित दुनियाँमा भौतिक विकास मात्र सबथोक होइन। मानवीय विकासका सूचाकांकहरूमा राम्रो प्रगति, जनताको जीवनमा सकारात्मक परिवर्तन, भूमण्डलीकृत विश्व र त्यसले पारेका प्रभावहरूको न्यूनिकरण र त्यसलाई विकासको नयाँ मोडेलसँग जोड्नु २१ औं शताब्दीमा विकासको मौलिकता हो। आफू मेयरमा निर्वाचित भएर नयाँ सोचका साथ काम गर्न चाहेको बरालको दावी छ।
हाल बराल एकीकृत समाजवादीको पोलिट्ब्यूरो सदस्य र गण्डकी प्रदेशको उपाध्यक्षसमेत छन्। हावादारी र सतही राजनीतिभन्दा जनताका समस्या र मुद्दाको मसिनो गरी अध्ययन गर्ने चरित्रका कारण उनी नतिजामुखी नेता हुन् भन्न सकिन्छ।
पोखरा आफैमा पर्यटकीय नगरी पनि हो। तर, कोभिडको प्रकोपका कारण पछिल्लोसमय पोखराको पर्यटनबजार सुनसान छ। पर्यटनलाई पूरानै लयमा फर्काउने नेतृत्वको खोजीका बिच स्वरोजगारमुखी योजना ल्याएर त्यसलाई शोधभर्ना गर्न सकिने बरालको तर्क छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन पनि त्यस्तो शोधभर्नाको बलियो आधार हुनसक्ने उनको प्रक्षेपण छ।
संगठनात्मक दृष्टिले कास्कीमा कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी मानिन्छन्। यी दुई पार्टीलाई अरू पार्टीले साथ दिँदा त्यसले स्वतः जित्ने परिस्थिति छ। अझ कांग्रेससँग माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा एक ठाउँ उभिँदा दोब्बर नजिता आउने निश्चितजस्तै छ।
अर्कोतर्फ एमालेको तर्फबाट २०७४ को निर्वाचन जितेका मेयर मानबहादुर जिसी साँढे चारवर्षे कार्यकालमा असफल सावित भएका छन्। उनको कार्यकालमा पोखराले गरेको एउटै नमुनायोग्य कामको दावी गर्नसक्ने स्थिति छैन। यसको प्रत्यक्ष लाभ गठबन्धनका उम्मेदवारले उठाउने नै छन्।
पछिल्लोसमय कास्कीमा एकीकृत समाजवादीको संगठन पनि क्रमशः फराकिलो बन्दै गएको छ। एमालेमा योगदान भएर पनि अन्यायमा परेका निष्ठावान् नेता र भर्भराउँदा नयाँ युवाहरू अगाडि आउँदा पार्टीले क्रमशः आकार ग्रहण गर्दै गएको छ। यसले पनि निर्वाचनमा सकारात्मक परिणाम दिने बरालको विश्लेषण छ।
मानवशास्त्रमा स्नातकोत्तरसम्मको औपचारिक योग्यता, चार दशक लामो राजनीतिक पृष्ठभूमि, राजनीतिक एवं सामाजिक अनुभव, निष्पक्ष कार्यसम्पादन र उच्च नैतिक आचरणका कारण सत्तारूढ गठबन्धनले बराललाई साझा उम्मेदवारका रूपमा स्वीकार्न कठिन नहुने विश्लेषण गरिएको छ।



लोकपाटी न्यूज

