न्युयोर्क। संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट रुस निलम्बित भएको छ। बिहीबार महासभामा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत प्रस्तावको पक्षमा परेपछि रुस निलम्बित भएको हो। रुसलाई मानवअधिकार परिषद्बाट निलम्बन गर्ने पश्चिमाहरुको प्रस्तावको पक्षमा परेपछि रुस निलम्बित भएको हो।
युक्रेन, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापानलगायत ९३ देशले रुसलाई निलम्बन गर्ने पक्षमा मतदान गरे। रुस, चीन, बेलारुस, उत्तर कोरिया, भियतनाम, इरान, सिरियालगायत २४ देशले विपक्षमा मतदान गरेका थिए। नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान, श्रीलंकालगायत ५८ देश अनुपस्थित भएका थिए।
मतदानमा ११७ देश सहभागी भएकामध्ये प्रस्तावको पक्षमा ९३ र विपक्षमा २४ मत परेको थियो। ५८ सदस्य मतदानमा सहभागी भएनन्। निलम्बन प्रस्ताव पारित गर्न खसेको मतको दुई तिहाइ मत आवश्यक हुन्छ।
यो निलम्बन एक कार्यकालका लागि मात्र लागु हुनेछ। रुसको सदस्यता २०२३ मा सकिँदैछ। त्यसपछि रुसले फेरि मानवअधिकार परिषद्को सदस्यताका लागि आवेदन दिन सक्छ। यसअघि सन् २०११ मा लिबिया निलम्बित भएको थियो ।



लोकपाटी न्यूज

