मन्त्री आले सकसमा, वडा कार्यालयले समेत दिएन साथ

लोकपाटी न्यूज

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल भारत मैत्री पशुपति धर्मशालामा ताला लगाउन गरेको अर्को प्रयास समेत असफल हुने भएको छ। मन्त्रीले २५ गते शुक्रबार धर्मशालामा ताला लगाउन आफूलाई सहयोग गरिदिन धर्मशाला रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ८ लाई गरेको अनुरोधमा वडा ले साथ नदिने भएपछि उनको योजना अप्ठ्यारोमा परेको हो।

शुक्रबार बिहान १० बजे पशुपति धर्मशालामा सिल गर्ने कार्यक्रम रहेकाले धर्मशालामा रहेका सामानको मुचुल्काको साक्षी बस्नका लागि पशुपति क्षेत्र विकास कोषमार्फत वडा कार्यालयलाई पत्र लेखिएको छ। उक्त पत्रमा भनिएको छ, ‘होटेल आनन्द प्रालि र कोषबीचको करार रुद्ध र भङ्ग भइसकेको अवस्थामा आफ्नो स्वामित्वमा रहेको भवन, लिगल गापात र सो स्थानमा रहेका सामानहरू कोषको नियन्त्रणमा धर्मशाला निरन्तर सञ्चालन गर्न पर्ने भई देहायको मिति समय र स्थानमा समानहरूको मुचुक्का गर्न लागिएकाले त्यस वडा कार्यालयबाट रोहबरमा रहनेरि वडा प्रतिनिधि खटाइ सहयोग गरिदिनुहुन अनुरोध साथ पत्रचार गरिएको छ।’

यता काठमाडौं महानगरपालिका वडा न. आठका वडाध्यक्ष दिनेशकुमार डंगोल भने उक्त धर्मशाला सम्बन्धित मुद्दा अदालतमा विचाराधीन रहेकाले आफू उक्त धर्मशालाका सामानको मुचुल्काको साक्षी बस्न नजाने बताउँछन्। उनले भने, ‘हामी कानुनको सम्मान गर्छौ त्यसैले पशुपति धर्मशालाको करारसम्बन्धी मुद्दा पाटन उच्च अदालतमा पेशीका रूपमा चलिरहेकाले धर्मशाला सिल गर्ने कार्यमा हामी सहभागी हुँदैनौ।’

त्यसो त यसअघि मन्त्री आलेको निर्देशनमा पशुपति धर्मशालामा सिल गर्ने प्रयत्न वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयको बेवास्ताको कारण सफल हुन सकेको थिएन। त्यसै भएर यो पटक पत्र नै लेखेर सहयोग माग्दा समेत उनले साथ नपाउने देखिएको हो। स्रोतका अनुसार आलेले वडाध्यक्ष लाई सहयोगको याचना गर्दै पटक पटक फोन समेत गरेका थिए। यस पटक पनि जिल्ला प्रशासन कार्यालयले अदालतमा विचाराधीन विषयमा आफूहरू फस्न नचाएको भनी जवाफ दिइसकेको स्रोतले बताएको छ।

होटेल आनन्द र नेपाल भारत मैत्री धर्मशालाबिचको करार पशुपति क्षेत्र विकास कोषले एकलौटी रूपमा करार रद्द गरेकाले उक्त करार रद्द गर्ने कार्य गैर कानुनी रहेको भन्दै काठमाडौं जिल्ला अदालतमा समेत मुद्दा दायर भएको छ। सो कुराको जानकारी हुँदा हुँदै मन्त्री आलेले एक दिन भए पनि धर्मशालामा ताला लगाएर देखाउने हठ गर्दै यस्तो गैर कानुनी कार्य गर्ने प्रयत्न गरेका हुन्।

उता पाटन उच्च अदालतमा गत २१ गते पेशी तोकिएको मुद्दाको पुन चैत २७ गरेको आगरी पेशी तोकिएको छ । तर, मन्त्री आले भने अदालतमा पेशीका रूपमा रहेको मुद्दालाई आफ्नो व्यक्तिगत ‘इगो’ साँधै धर्मशाला सिल गर्ने लागिपरेका हुन्। यही मुद्दाका विषयमा एक टेलिभिजन कार्यक्रममा अदालतमा समेत सेटिन मिलाएको भन्ने अभिव्यक्ति दिएको कारण आले विरुद्ध अदालतको मानहानि मुद्दा चलिरहेको छ। अदालतले १५ दिन भित्र मन्त्री आले आफै वा लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको छ।

यसरी आफैँ अभियुक्त रहेको मुद्दा एकातिर रहेको र अर्कोतर्फ धर्मशाला लिजमा दिने विषयमा कोष र बतास समूह बिच भएको सम्झौता भङ्ग गरेको सम्बन्धमा सो कार्य गैर कानुनी रहेको भन्ने दलिल सहित बतास समूह जिल्ला अदालत काठमाडौंमा पुगिसकेको अवस्थामा मन्त्री आलेले गर्दै आएका हर्कतलाई विश्लेषकहरूले अराजकताको पराकाष्ट भन्दै टिप्पणी गरेका छन्।

उता मन्त्री आले पनि नहाल्नु हात हालिसकेकोले आफू पछी हट्न नसकेको बताउँदै आएका छन्। उनी निकट स्रोतका अनुसार आले ‘साधु जस्तो मान्छे रहेछन् बतास तर के गर्नु टुङ्गोमा पुराउनै पर्‍यो। नहाल्ने ठाउँमा हात हालिएछ भन्ने गरेका छन्। तर, आलेलाई नजिकबाट चिन्नेहरू भने पशुपति धर्मशाला हाललाई बतासबाट खोसेर नाथ मलाई जिम्मा दिने भनिए पनि उनी त्यो धर्मशाला आफ्नो मान्छेलाई सुम्पने योजनामा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्