एमालेले मधेसका युवाहरूले नागरिकता नपाओस् भन्ने चाहन्छ : प्रचण्ड

prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको निम्ति आफूले इमानदारीपूर्वकता लडेको बताएका छन्। सिराहामा आयोजित एक कार्यक्रममा प्रचण्डले मधेसको अधिकार, विकाश र समृद्धिको निम्ति इमानदारीपूर्वकता लड्ने पार्टी माओवादी केन्द्र मात्र भएको दाबी गरे। आगामी निर्वाचनमा मधेसले फेरि पनि माओवादी केन्द्रलाई जिताए मधेसी जनताले लडेर ल्याएका उपलब्धिको रक्षा हुने उनको भनाई छ।

‘मधेसको अधिकार, विकाश र समृद्धिका निम्ति इमानदारीपूर्वकता लड्ने पार्टी माओवादी मात्र हो। त्यो पार्टीलाई विजयी गराए मात्रै हामीले प्रतिगमन र प्रतिक्रान्तिलाई रोक्न सक्छौं,’ उनले भने, ‘गत साल जब प्रतिक्रान्तिको कसरत भयो। माओवादी केन्द्रले नै देशव्यापी अभियान चलायो। काठमाडौंमा ठुलठुला विरोधका कार्यक्रम पनि गर्‍यौं। विरोध सभामा मधेसले ठूलो सहभागिता जनाएको थियो। हामी सबै मिलेर खबरदारी गरेको थियौ। अन्ततः केपी ओलीको प्रतिगमनको यात्रा असफल भयो। त्यसकारण पनि म तपाइहरूलाई धन्यवाद दिन चाहन्छु।’

प्रचण्डले नागरिकतासम्बन्धी समस्या समाधान नहुँदा मधेसका हजारौं युवाहरू अवसरबाट वञ्चित हुन परेको बताए। आफूले उक्त समस्या समाधानका निमित्त सदैव पहल गरिरहेको बताए। उनले भने, ‘नागरिकतासम्बन्धी समस्या मधेसमा सबैभन्दा चर्को छ। यो समस्या समाधान नहुँदा हजारौं मधेसी युवाहरू अवसरबाट वञ्चित हुन पुगेका छन्। यो विडम्बनाको स्थिति हो। मैले गठबन्धनमा अध्यादेशमार्फत भए पनि नागरिकतासम्बन्धी समस्या समाधान गर्नुपर्ने कुरा राखेको छु।’

प्रचण्डले अध्यादेशमार्फत भएपनि नागरिकता सम्बन्धी समस्या सुल्झाउने पर्ने पक्षमा आफू रहेपनि अदालतको आदेशका कारण त्यो सफल हुन नसकेको बताए। उनले अगाडि थपे, ‘बा-आमा नागरिक हुने, छोरा छोरीले नागरिकता नपाउने। योभन्दा अरू ठूलो विडम्बना अरू केही हुन सक्छ। संसारमै नभएको यो नेपालमा भएको छ। भनेर मैले प्रस्ताव राखे। तर, अदालतले नागरिकता जस्तो गम्भीर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर मात्र नागरिकतासम्बन्धी समस्या हल गर्नुपर्छ भनी आदेश दिएको रहेछ। त्यसकारण अध्यादेश ल्याउन नपाइने रहेछ।’

तर, एमालेले निरन्तर संसद अवरोध गरिरहँदा संसदमा नागरिकतासम्बन्धी अध्यादेशमाथि छलफल हुन नसकेको उनले बताए। एमालेले नागरिकताको समस्या समाधान नहोस् भनी चाहेको आरोप प्रचण्डको छ। उनले अब एमालेले संसद अवरोध गरेपनि उक्त विधेयक पारित गरेरै छोड्ने प्रतिबद्धता जनाए।

‘संसदमा नागरिकतासम्बन्धी विधेयकमाथि छलफल गरौं। सदनबाटै पारित गरौं भनेर प्रस्ताव हामीले राख्यौं। सदन अवरुद्ध छ। नागरिकतासम्बन्धी विधेयकमा छलफल गर्न संसद खुलेको हुनुपर्छ। एमाले र केपी ओली गुटले सदन चल्न दिएको छैन। सदन रोकेर लाखौं युवाहरूलाई नागरिकताबाट वञ्चित गराएको छ,’ प्रचण्डले भने,’ अवरोधका बीच पनि हामीले बजेट ल्यायौं। १२ बुँदे सहित एमसीसी पास गर्यौं। अब संसद खुल्ने बित्तिकै एमालेले अवरोध गरेपनि नागरिकता विधेयकमाथि छलफल गराएर पारित गराउँछौं। यो विश्वास म तपाइहरूलाई दिलाउन चाहन्छु। हामी हरहालतमा यो समस्या समाधान गर्न चाहन्छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्