काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरू स्थापनाको उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिएकी छन्।
भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. १० मा मल्टी च्यामबर कोल्ड स्टोरको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएअनुसार सहकारीलाई कृषिसँग जोड्दै उत्पादन र उत्पादकत्व बढाएर स्वाधीन अर्थतन्त्रको विकास गर्ने गरी बजेटमार्फत विशेष योजना ल्याउने तयारी भइरहेको जानकारी दिइन्।
मन्त्री श्रेष्ठले जग्गाको चक्लावन्दी गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्ने गरी भू-उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको र छिट्टै आउने बताउँदै यसबाट कृषियोग्य जमिनमा भइरहेको खण्डीकरण रोक्न मद्दत पुग्ने विश्वास समेत व्यक्त गरिन्।
संविधान, ऐन नियम र नियमावलीहरू बने पनि त्यसको कार्यान्वयन हुन नसकेका कारण भूमि सम्बन्धी समस्या हालसम्म पनि समाधान हुन नसकेको भन्दै आफूले जग्गासम्बन्धी समस्या दिगो रूपमा गर्न खोजी रहेको पनि बताइन्। उनले भनिन्, ‘संविधान, ऐन नियम बनाएर र ठूलाठूला भाषण गरेर मात्रै विकास काम नहुने रहिछ त्यो हामीले देखिसकेका छौ, त्यसका लागि अहिले नागरिकले अनुभूति गर्ने गरी काम गर्न सुरु भइसकेको छ, संविधान कार्यान्वयन र भूमि सम्बन्धी समस्या समाधानको काम पहिलो प्राथमिकतामा राखिएको छ, २०२१ सालयता नापी भएर पनि लालपुर्जा पाउन नसकिरहेका गाउँ ब्लकका नागरिक र भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने अभियान नै सुरु गरिसकेका छौँ, भूमिहीन दलितलाई लालपुर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाटबाट सुरु गर्यौँ, अब फेरी पनि भूमि सम्बन्धी समस्या समाधानका लागि भन्दै आयोग र समिति गठन गरिरहन नपर्ने गरी योजनाबद्ध रूपमा नै काम सुरु गरिसकेका छौ, यसमा सबैको साथ र सहयोग आवश्यक छ।’
मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितमा आफूले सुरु गरेको कामको पक्ष र विपक्षमा तर्क वितर्क सुरु भइसको भन्दै राष्ट्रहित र मुलुकको समृद्धिको काममा कोही पनि विभाजित हुन नहुने पनि बताइन्।



लोकपाटी न्यूज

