काठमाडौं। सर्वोच्च अदालतले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक डीआइजीलाई अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिटमा आज पनि सुनुवाइ हुँदैछ। मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध रिटको पेशी तोकिएको छ।
यसअघि आइतबार र सोमबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको थियो। एआइजीमा बढुवाविरुद्ध डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्च रिट दायर गरेका थिए।
डीआइजी कार्कीले चैत १७ गते तथा अर्याल र कार्कीले चैत २३ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए। चैत्र १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीनजना डीआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
सोही विषयलाई लिएर डीआइजीहरु कार्कीसहित तीन जनाले सर्वोच्चमा रिट निवेदन दिएका थिए। त्यस्तै, यसअघि बढुवाविरुद्ध लोकसेवा आयोगमा समेत उजुरी परेको थियो। आयोगले एआइजी बढुवालाई सदर गरेपछि मन्त्रिपरिषद्ले बढुवा गर्ने निर्णय गरेको थियो।



लोकपाटी न्यूज