जनकपुर। नेकपा (माओवादी केन्द्र)ले आदर्शको रूपमा मान्दै आएका कम्युनिष्ट नेता निर्मल लामाको नाममा शिक्षालय निर्माण भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज (आइतबार) बर्दिबास नगरपालिका-११ खयर माराको सुन्दर बस्तीमा निर्मल लामाको नाममा वहुप्राविधिक शिक्षालय उद्घाटन गरेका हुन्।
शिक्षालय उद्घाटन तथा पार्क शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा आफू नेतृत्वको जनयुद्धताकाको ऐतिहासिक ठाउँ अहिले खयर मारा प्राविधिक शिक्षाको केन्द्र बनेको भन्दै गर्वका साथ चर्चा गरेका थिए। शिक्षालयमा रु पाँच करोड ५० लाख लागतको ४० कोठे र रु चार करोड ८३ लाख लागतको २१ कोठे गरी दुई अत्याधुनिक भवन निर्माण गरिएको छ। ‘अब यो शिक्षालय मुलुकभरि दक्ष प्राविधिकको परिपूर्ति गर्ने मुलुककै एउटा खास गन्तव्य बन्दैछ’, प्रचण्डको भनाई छ, ‘यहाँको शैक्षिक उत्पादनले मुलुकको विकासमा महत्त्वपूर्ण योगदान दिनेछ।’
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका योद्धा निर्मल लामाको नाउँमा ‘निर्मल लामा बहु प्राविधिक शिक्षालय’ स्थापना भएर सञ्चालनमा आएको चार वर्ष पूरा भएको छ। शिक्षालयले सिभिल इन्जिनियरिङ, जिओ मेट्रिक इन्जिनियरिङ (अमिन, सर्भे), वन विज्ञान, फुड एन्ड डेरी टेक्नोलोजी, होटेल म्यानेजमेन्ट, फार्मेसी र रेडियोग्राफी (रेडियोलोजी) विषयको सैद्धान्तिक र व्यावहारिक सीप दिँदै आएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभुटी) को सम्बन्धनमा शिक्षालयले मधेस प्रदेशका माविलाई विभिन्न विषयको पठनपाठनको स्वीकृति दिने गरेको छ। यसैअनुरूप सिराहाको धनगढीस्थित सामुदायिक विद्यालयले प्राकृतिक चिकित्सा र आयुर्वेदको पठनपाठन सुरु गरेको छ।
यसैबिच बर्दिबास-११ को खयरमारास्थित चनौटेमा अध्यक्ष प्रचण्डले नै शहीद पार्क निर्माण कार्यको शिलान्यास गर्नुभएको हो। बर्दिबास नगरपालिकाले यो पार्क निर्माणको योजना अघि बढाएको हो।



लोकपाटी न्यूज