विराटनगर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन्। विराटनगर विमानस्थलको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको काम चाँडै गरिने बताएका हुन्।
‘विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन भइसकेको छ,’ उनले भने, ‘भौतिक संरचनालगायत काम चाँडै गरिने छ।’ मन्त्री आलेले विमानस्थल स्तरोन्नतिका लागि रकम अपुग भए आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गर्ने जानकारी दिए। विराटनगरबाट अन्य क्षेत्रमा हवाईसेवा सञ्चालन गर्न पहल भइरहेको उनले बताए।
क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्न जग्गा अधिग्रहणका लागि १७ करोड आवश्यक पर्ने आलेले जानकारी दिए। ‘विराटनगर क्षेत्रीयस्तरको विमानस्थल बनाउन आवश्यक छ,’ उनले भने। विराटनगर विमानस्थलमा रहेका कतिपय संरचना जीर्ण भएका र केही पुनःनिर्माण गर्नुपर्ने देखिएकाले त्यसका लागि बोलपत्र आह्वान भइसकेको उनको भनाइ थियो। -रासस



लोकपाटी न्यूज

