राजेन्द्र लिङ्देनलाई थापाको आग्रह : राजसंस्था बोकेर युवाको भविष्यमाथि नखेल्नुस्

Kamal_Thapa
लोकपाटी न्यूज

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको एजेण्डा बोकेर युवाहरूको भविष्यमाथि खेलबाड गर्न नहुने बताएका छन्। आफूले पनि राजसंस्थाको एजेण्डा छोडेको र राप्रपाको नेतृत्वलाई पनि उक्त एजेण्डा छोड्न आग्रह गरेका छन्। असम्भव एजेण्डा बोकेर गाली गलौचमा समय खेर फाल्न नहुने उनको भनाई छ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘असम्भव एजेण्डा बोकेर आफ्नो र युवाहरूको भविष्य माथि खेलबाड गर्ने काम छोड्नोस्। मैले त छोडे। हेरि राख्नुहोला, केही वर्षपछि भाइहरू पनि मेरै बाटोमा आउनुपर्छ। राजसंस्थाको माया त मलाई अहिले पनि लाग्छ। तर,के गर्नु ‘उन’को व्यवहार र सोचाई नै गलत भयो। त्यसैले गाली गलौचमा समय खेर नफाल्नोस्।’

राजसंस्थाको माया आफूलाई लाग्ने भए पनि ‘उनको’ व्यवहार र सोचाइ नै गलत भएको थापाको भनाई छ। उनले पहिले आफैँलाई राजसंस्थाको एजेण्डा छाडौं भन्नेहरूले अहिले गाली गरिरहेको बताए। ती व्यक्तिहरू पनि ढिलो चाँडो आफ्नै बाटोमा आउनेको उनको विश्वास छ।

‘२०६३/६४ ताका ‘मरेको लास नबोकौं दाइ’ भनेर सल्लाह दिने भाइहरू अहिले पार्टी कब्जा गरेर मलाई धुवाँधार गालीको वर्षा गरिरहेको देख्दा हाँसो लाग्छ,’ थापाले लेखेका छन्, ‘गालीगलौजको सट्टा निर्मल निवासलाई सोध्नोस्- गत १५ वर्षमा राजसंस्था पुनः स्थापना गर्न राजाको के भूमिका रह्यो ? पटक पटक राप्रपा कमजोर पार्ने काम किन भयो ?’

थापा २०६२/६३ को जनआन्दोलनपछि सम्पूर्ण राजनीतिक माहौल गणतान्त्रिक हुँदा पनि एकल रूपमा राजसंस्थाको पक्षमा उभिँदै आएका थिए। राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी परित्याग गरेर राप्रपा नेपाल गठन गरेका थापाले राजसंस्था पुनः स्थापनाको माग छाडेर हिन्दु राज्यको पक्षमा उभिन थालेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्