काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक संकट समाधानमा माओवादीले निर्णायक भूमिका निभाए पनि समस्या समाधान भएपछि भने नपत्याउने समस्या देखिएको बताएका छन्। ‘प्रधानमन्त्री बनाउनदेखि राष्ट्रिय संकट पार लगाउनसम्म माओवादीले महत्त्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्ने गरेको छ,’ उनले भने’ तर संकट समाधानपछि हाम्रै पार्टीलाई नपत्याउने समस्या पनि देखिन्छ।’
यद्यपि पछिल्लो समय माओवादीप्रति फेरि आकर्षण देखिएको पनि उनले बताए। रिपोर्टस क्लब नेपालको कार्यक्रममा प्रचण्डले आफू देशका विभिन्न ठाउँमा जाँदा फेरि माओवादीमै जनताको आकर्षण देखिएको बताए। देशलाई संकट पर्दा माओवादीले जहिले पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएकोले पनि माओवादीप्रति जनताको आकर्षण बनेको उनको भनाई छ।
‘देशलाई अप्ठ्यारो पर्दा बचाउने काम माओवादीले गर्दै आएको छ। शान्ति सम्झौतादेखि एमसीसी पास गर्नेसम्मका काममा माओवादी अग्रसर रह्यो,’ उनले भने, ‘माओवादीले संकट मोचनको भूमिका खेल्नुपर्ने तर सबैले स्वीकार गर्न नसक्ने पनि देखिएको छ।’ उनले माओवादीप्रति जनताको आकर्षण रहेको पनि बताए।
‘माओवादीप्रति फेरि आकर्षण बढेको छ। यसो भनेर अहंकार गरेको छैन,’ उनले भने। प्रचण्डले गठबन्धन गरेरै निर्वाचनमा जाने विषयमा कुनै दुबिधा नरहेको पनि बताए। उनले भने, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो। लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका छौं। निर्वाचनमा गठबन्धनबाटै जाने भन्नेमा हामी प्रष्ट छौं।’



लोकपाटी न्यूज

