काठमाडौं। सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष न्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकबाट सर्वसम्मत रुपमा अनुमोदन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई सर्वोच्च अदालतकोे न्यायाधीशमा नियुक्त गरेकी थिइन्।
उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश रहेका श्रेष्ठलाई गत फागुन २६ गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो। न्यायाधीश श्रेष्ठले पोखरा, राजविराज र विराटनगर उच्च अदालतमा रहँदा दुई वर्ष नाघेका मुद्दा शून्यमा झारेको तथा सबैभन्दा बढी मुद्दा छिनोफानो गर्ने न्यायाधीशका सूचीमा पर्दै आएका छन्।
न्याय परिषद्ले उनको नाम सर्वोच्च अदालतका लागि मनोनयन गरी संसदीय सुनुवाइका लागि गत फागुन २७ गते समितिमा पठाएको थियो।



लोकपाटी न्यूज

