उपसचिव सञ्जेल पुनः श्रम कार्यालयमा, भन्छन्–भ्रष्टाचारीलाई ‘नो इन्ट्री’

Prem sanjel
लाेकपाटी न्यूज

विराटनगर, २२ फागुन । पछिल्लो समय भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा चर्चित भएका श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल सर्वोच्च अदालतको आदेशपछि बुधबारदेखि पुनः कार्यालय फर्किएका छन् । सर्वोच्चका न्यायाधिश अनिलकुमार सिन्हाको इजलासले अर्को फैसला नआउन्जेलसम्म उनलाई पुरानै कार्यालयमा यथावत् गर्न आदेश दिए पछि सञ्जेल पुनः कार्यालय फर्किएका हुन् ।

आदेशपछि कार्यालयमा पुनः कार्यभार सम्हाल्न आएका सञ्जेलले भने, ‘‘मैले न्याय पाएको छु । सबैको साथ, सहयोग र अदालतको निर्णयले म पुनः श्रम कार्यालयमै आएको छु ।’’

यसअघि उनलाई श्रम कार्यालयमा सरुवा भइ आएको दुई महिना नपुग्दै सरुवा गरिएको थियो । सरुवापछि आफ्नै मन्त्रालयका सचिव र सरकारकै गलत रवैयाको विषयमा सामाजिक सञ्जाल तथा मिडियामा अभिव्यक्ति दिएर उनी चर्चामा रहेका थिए ।

सचिव सञ्जेलले आफूलाई गैरकानुनी र अन्यायपूर्ण व्यवहार गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा फागुन १७ गते रिट निवेदन दायर गरेका थिए । निजामती कर्मचारी ऐनविपरीत ७० दिनमा दुईपटक सरुवा गरेको उनको दाबी थियो । उनलाई गत असोज ११ मा निर्वाचन आयोगको क्षेत्रीय निर्देशकबाट वरिष्ठ श्रम अधिृकतका रुपमा श्रम कार्यालय विराटनगरमा सरुवा गरिएको थियो । त्यसलगत्तै गत पुस ५ गते व्यावसायिक सीप तथा तालिम प्रतिष्ठान इटहरीमा सरुवा गरिएपछि सञ्जेल सरुवा बदरको माग गर्दै सर्वोच्च पुगेका थिए ।

आफू अन्यायमा परेको भन्ने जानेपछि मिडिया र जनस्तरबाट समेत निकै ठूलो समर्थन पाएको बताउँदै सञ्जेलले भने, ‘‘घूस नखाने दृढसंकल्प लिई सरकारी सेवामा रहें । अन्यायपूर्ण तवरले सरुवा भएपछि विरोधमा उत्रिएँ । यो कुरा बुझेपछि जनताले समेत साथ दिए ।’’ उनले जनपक्षीय काम गर्दा स्यावासी पाएकोमा खुसी लागेको सुनाए ।

श्रम कार्यालयमा हाजिर भएसँगै सञ्जेलले बुधबार नै कर्मचारीसँग छलफल गरी जनताको काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । उनले नियमसंगत ढंगले काम गर्न र घूस नखान आग्रह गर्दै भने, ‘‘हामी सबै राम्रोसँग काम गरौं । जनताको पक्षमा खटौं ।’’

सञ्जेलले आफूले सुरु गरेका कामलाई अब निरन्तरता दिने पत्रकारहरुलाई जानकारी गराएका छन् । श्रमसँग सम्बन्धित मुद्दाको पेशी तोक्ने र त्यसलाई खुला इजलासको रुपमा संचालन गर्ने, बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाउने, सरकारी तथा निजी विद्यालयमा हुने गरेको श्रमशोषणको अनुगमन गर्ने, औद्योगिक क्षेत्रमा हुने गरेको श्रमशोषणलगायत विषयलाई नियमसंगत ढंगले सम्बोधन गर्दै जाने उनले बताए ।

उनले भने, ‘‘पहिले केही उद्योगमा हुने गरेको श्रमशोषणको नमूनागत रुपमा अनुगमन गरेको थिएँ । अब के कस्तो परिवर्तन भएको छ, त्यसलाई हेर्नेछु ।’’ सञ्जेलले आफू काम गर्ने अड्डामा कसैलाई पनि अन्याय हुन नदिने र गल्ती भएको भए त्यसलाई सच्याएर अघि बढ्ने आफ्नो योजना रहेको बताए ।

सञ्जेलले आफूमाथि अन्याय भएको भन्दै विभागीय मन्त्री र मन्त्रालयमा समेत निवेदन दिएका थिए । तर, मन्त्री लालबाबु पण्डितले समेत उनको सरुवा रोकेनन् । श्रम कार्यालयमा रहँदा मजदुरको पक्षमा काम गरेपछि उनको सरुवा भएको थियो । सञ्जेल यसअघि निर्वाचन कार्यालयमा काम गर्दासमेत निकै लोकप्रिय बनेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्