एजेन्सी। चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आउने भएका छन्। उनले यही चैत ११ देखि १३ गतेसम्म नेपाल भ्रमण गर्नेछन्।
नेपाल र चीन दुवै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दैछन्। तय भएको कार्यक्रम अनुसार विदेशमन्त्री वाङ ११ चैतको बेलुकी काठमाडौं आइ पुग्नेछन्। वाङको महत्त्वपूर्ण कार्यक्रमहरू सबै चैत १२ र १३ गतेलाई राखिएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १२ चैतमा नेपाल-चीन परराष्ट्र मन्त्री स्तरीय द्विपक्षीय बैठक बस्नेछ। भ्रमणमा बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत नेपालले तयार पारेका ९ वटा आयोजनाका विषयमा छलफल हुने जनाइएको छ।
नेपाल भ्रमणको बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शीर्ष नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। उनी १३ चैतको साँझ स्वदेश फर्कने कार्यक्रम छ।



लोकपाटी न्यूज

