काठमाडौं। बढ्दो शहरीकरणले मानिस विभिन्न रोगव्याधीको शिकार भएसँगै स्वस्थ रहने उपायहरूको खोजी हुन थालेको छ। मानिसहरू स्वस्थ रहने उपाय खोज्दै व्यायाम हाउसमा लाम लाग्ने गरेका छन्।
तर, तथ्यहरूले कडा व्यायाम स्वास्थ्यका लागि हानिकारक हुने प्रमाणित गरेका छन्। मानिस स्वस्थ रहुञ्जेल कडा व्यायाम सम्भव भए पनि बिरामी पर्दा वा जवानी ढल्किँदै जाँदा कडा व्यायाम असम्भव हुन जान्छ। यसले मानिसको शरीरलाई असन्तुलित बनाउने र पक्षपातजस्ता रोगहरूको शिकार हुनुपर्ने जोखिम रहने विज्ञहरूको दावी छ।
शरीरका लागि व्यायाम आवश्यक नपर्ने होइन। तर, शारीरिक स्वस्थताका लागि व्यायामभन्दा पौष्टिक र सन्तुलित आहार महत्वपूर्ण हुन्छ। जुन व्यक्तिले सन्तुलित आहारमा ध्यान दिन्छ, उसको स्वास्थ्य अरूकोभन्दा राम्रो हुने विज्ञहरू बताउँछन्।
संयोग नै मान्नुपर्छ विश्वमा जसले सन्तुलित आहारमा ध्यान दिए, उनीहरू लामो जीवन बाँचेका र कडा व्यायाम एवं शारीरिक सुगठनमा ध्यान दिनेहरू तुलनात्मक रूपमा कम उमेर बाँचेको पाइन्छ।
शारीरिक स्वास्थ्यका लागि ऐनमौकामा गरिने व्यायामले खास धेरै अर्थ राख्दैन, जति अर्थ हरेक कुरालाई जीवनपद्धति बनाउँदा राख्दछ। मन लाग्दा व्यायाम गर्ने, नलाग्दा व्यायाम नगर्ने तरिकाले पनि शरीरलाई असन्तुलित बनाउँछ।
हामीकहाँ मोटोपन बढेपछि व्यायाम हाउसतिर धाउने चलन फेसनजस्तै मौलाएको छ, जुन असल स्वास्थ्यको उपाय होइन। छिट्टै मोटाउने र छिट्टै दुब्लाउने अभिलासाले व्यायाम गर्ने तरिकाले स्वास्थ्यलाई फाइदा गर्दैन। अर्को कुरा मोटाएपछि खना छोड्ने र दुब्लाएपछि मनलाग्दी खाना खाने कुरा पनि स्वास्थ्यका लागि त्यति नै हानिकारक छ।



लोकपाटी न्यूज

