काठमाडौं, १९ फागुन । वाइडबडी घोटाला प्रकरणमा आफनो नाम मुछिएपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी प्रकरणको बारेका यथार्थ कुरा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । आइतबार विहान जनकपुरमा नेपाल प्रेस यूनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले आफू प्रधानमन्त्री हुन्जेल के भयो भन्ने थाहा नभएको दाबी गर्दै यसबारेमा आफूले केही भन्न नसक्ने बताए ।
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि वाइडबडी प्रकरणमा भएको घोटालाका बारेमा सत्यतथ्य बाहिर आउन नसक्ने अनुमान भइरहेका बेला उनले यस प्रकरणबारे नयाँ कुरा छिट्टै सार्वजनिक गर्ने बताए । सरकारको काम कारवाहीप्रति असन्तुष्ट जनाउँदै उनले सरकारले एक बर्षको अवधिमा केही गर्न नसकेको समेत आरोप लगाए ।
वर्तमान सरकारले नै संघीयतालाई कमजोर पार्ने काम गरिरहेको दाबी गर्दै उनले समाजिक सञ्जालमा कडाइ गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नै धावा बोलेको बताए । सरकारले दुई तिहाइको दम्भमा जनतामाथि हैकमवाद लाद्न खोजेको भन्दै कांग्रेस यसको विरोधमा लागेको बताएका छन् ।



लाेकपाटी न्यूज

