खोटाङमा कुखुराको मासु अभाव

लोकपाटी न्यूज

खोटाङ। दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ। ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो।

फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु बिक्री केन्द्र (फ्रेस हाउस)हरू अहिले बन्द छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि नगरपालिका ब्रोइलर कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भएको घोषणा गर्दै तराईबाट आयात हुने ब्रोइलर कुखुरा तथा अण्डामा रोक लगाएपछि दिक्तेल बजारमा अहिले मासु अभाव भएको छ।

लामो समयको वर्षा र हिमपातपछि बढेको चिसोका साथै ओमिक्रोनको त्रासका कारण जिल्लामा ब्रोइलर कुखुराको मासु उत्पादन गर्न नसक्दा व्यवसायीले करोडौंको घाटा व्यहोर्नुपरेको पोल्ट्री व्यवसायी सङ्घ खोटाङका अध्यक्ष सुवास जोशीले जानकारी दिए। ‘प्रतिकेजी ५०० मा बिक्री हुने ब्रोइलर कुखुराको मासु दिक्तेल बजारमा मात्रै दैनिक २५० देखि ३०० केजीसम्म बिक्री हुने गरेको थियो’, उनले भने, ‘चिसो र ओमिक्रोनको त्रासका कारण कुखुरा उत्पादन गर्न नसक्दा ग्रहकलाई दिन सकिएको छैन। पछिल्लो समय अधिकांश फार्ममा चल्ला हालिएको छ, अब फागु पूर्णिमादेखि निरन्तर बजारमा ल्याउने तयारी गरेका छौँ।’

जिल्लाका सहरी क्षेत्र तथा गाउँमा समेत मासु अभाव भएपछि अहिले अण्डाको माग भने बढेको पोल्ट्री व्यवसायीले बताएका छन्। यसका लागि दिक्तेल बजारमा मात्रै व्यावसायिकरूपमा करिब पाँच हजार लेयर्स कुखुरा पालिएका छन्। दिक्तेल बजारमा सञ्चालित लेयर्स कुखुरा फार्मबाट पछिल्लो समय दैनिक करिब १५-२० कार्टुन अण्डा बिक्री हुने गरेको पोल्ट्री व्यवसायी सङ्घले जनाएको छ। यद्यपि तराईका विभिन्न जिल्लाबाट कम मूल्यमा आयात गरिने अण्डाले जिल्लामा उत्पादित अण्डा बिक्रीमा समस्या हुने गरेको बताइएको छ।

व्यवसायीका अनुसार उत्पादन भएको अण्डा २० दिनदेखि महिना दिनभित्र उपयोग गरिसक्नुपर्ने हुन्छ। तराईबाट आयात हुने अण्डा कति दिन उत्पादन भएको हो भन्ने पहिचान नहुँदा महिनौँपछि समेत उपभोग गर्ने गरिएको छ। दिक्तेल बजार तथा आसपासका क्षेत्रमा समेत कुखुराको मासु पाउन छाडेपछि अहिले जिल्लामा स्थानीय जातका कुखुराले भने राम्रो मूल्य पाएको छ। यसअघिसम्म प्रतिकेजी ८०० मा पाउने स्थानीय जातका कुखुराको मूल्य बढेर अहिले प्रतिकेजी ९०० देखि रु एक हजारसम्म पुगेको उपभोक्ता बताउँछन्।

अर्कोतर्फ जिल्लामा व्यावसायिकरूपमा स्थानीय जातका कुखुरापालन गर्नेको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ। दिक्तेल बजारमै ह्याचरी उद्योग सञ्चालन गरेर गाउँगाउँमा स्थानीय जातका कुखुराको चल्ला बिक्री वितरण सुरु भएको छ।

ब्रोइलर कुखुराको मासु पाउन छाडेसँगै जिल्लामा अहिले तराईका व्यवसायीले छिमेकी देश भारत तथा तराईका विभिन्न जिल्लाबाट माछा ल्याएर धमाधम पसल खोलेर बिक्री गर्न थालेका छन्। व्यवसायीले अहिले दिक्तेल बजारका चोकचोकमा बिनादर्ता माछा पसल खोलेर बिक्री वितरण गरिरहेका छन्। यस्ता पसलमा बिक्री गर्न राखिएका माछा गुणस्तरहीन रहेको जनाइएको छ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्