जनगणनाको विस्तृत तथ्याङ्क असोजभित्र सार्वजनिक गरिने

लोकपाटी न्यूज

काठमाडौं। केन्द्रीय तथ्याङक विभागले २०६८ को जनगणनाको विस्तृत विवरण असोज भित्र सार्वजनिक गर्ने बताएको छ। विभागले तथ्याङक प्रसोधनको काम द्रुत गतिमा अघि बढाएकाले आउने असोजभित्र विस्तृत तथ्याङ्क सार्वजनिक गर्ने लक्ष्य राखेको विभागको तथ्याङ्क शाखा प्रमुख डुण्डीराज लामिछानेले जानकारी दिए।

विभिन्न क्षेत्रको डाटा प्रसोधनको काम चलिरहेकाले विस्तृत विवरण दिन नसक्ने जनाउँदै उनले असोज महिनासम्म पर्खनुपर्ने बताए। विभागले जनगणनाको संक्षिप्त तथ्याङ्क माघ १२ गते सार्वजनिक गरेको थियो। तथ्याङ्कमा जनसंख्या वृद्धिको लक्ष्यभन्दा करिव १२ लाखभन्दा बढीले जनसंख्यामा कमी आएको थियो ।

विभागले २०६८ पछि ३८ लाख ८३ हजार ५५३ ले वृद्धि भई तीन करोड तीन लाख ७८ हजार ५५ जनसंख्या पुग्ने अनुमान गरेको थियो। तर सार्वजनिक गरिएको तथ्याङ्कमा २६ लाख ९७ हजार ९७६ ले मात्र जनसंख्या वृद्धि भएर हाल नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

२० वर्षको अनुपात अर्थात २०५८ साल देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा १.३२ प्रतिशतले जनसंख्या वृद्धि दरमा कमी आएको छ। २०५८ सालमा २.२५ र २०६८ सालमा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेको थियो तर २०७८ मा भने ०.९३ प्रतिशतमा सिमित भएको छ। २०५८ मा नेपालको जनसंख्या दुई करोड ३१ लाख ५१ हजार ४२३ थियो भने २०६८ सालमा दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।

संक्षिप्त तथ्याङ्कअनुसार अझै पनि पुरुषको भन्दा महिलाको जनसंख्या छ लाख नौ हजार ८५८ ले बढी छ। तथ्याङ्कनुसार एक करोड ४९ लाख एक हजार १६९ महिला र एक करोड ४२ लाख ९१ हजार ३११ पुरुष रहेको छ।

त्यसैगरी, यस वर्ष विभागले विदेशमा रहेका नेपालीको तथ्याङ्क समेत सार्वजनिक गरेको छ, जसमा २१ लाख ६९ हजार ४७८ जना नेपाली विदेशमा बसोबास गर्दै आएका छन्। विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्