काठमाडौं, १७ फागुन । शनिबारबाट पुन पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने बताइएको हो ।
शनिबार अर्कै जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए ।
उनका अनुसार आज मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ । देशको अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुन: दोहोरिने छ ।
राति देशको पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि शनिबार देशको पश्चिमी र मध्य भागमा सामान्य बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आइतबार देशको पश्चिमी भागमा सामान्य बदली रही मध्य र पूर्वी क्षेत्रका एक– दुई स्थानमा हल्का वर्षाका सम्भावना रहेको छ ।



लाेकपाटी न्यूज

