पहाड र मधेशका सेतु थिए रवीन्द्र अधिकारी

Rabindra-Adhikari-12
लाेकपाटी न्यूज

काठमाडौं। ‘एमाले नेताको बोलीले केही गरी मधेशी जनताको चित्त दुखेको छ भने म सबैको तर्फबाट माफी माग्न चाहन्छु।’ हिजो हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीले केही पहिले एक अन्तरवार्तामा भनेको यो कुराले मधेशी जनताको मन जितेको मधेशी दलकै नेताहरु बताउँछन्।

तत्कालीन एमालेमा रविन्द्र अधिकारी निर्णायक तहमा थिएनन्, तैपनि मधेश र एमालेबीचमा सम्बन्ध बनाउन निकै प्रयास गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव एवं प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल बताउँछन्। मधेशप्रति तत्कालीन एमालेका नेताहरुभन्दा अधिकारीको सोच आफूले फरक पाएको उनी बताउँछन्।

एक अन्तर्वार्तामा रविन्द्र अधिकारीसँग आफूसमेत रहेको र सो अन्तरवार्तामा उनले भनेको कुराले आफ्नो मन जितेको सुमन बताउँछन्। मधेशप्रतिको सोचाई एमालेको अन्य नेताभन्दा फरक पाएको सुमन सम्झन्छन्। तत्कालीन एमाले र मधेशबीच बिग्रेको सम्बन्धलाई सुधार गर्नका लागि रविन्द्र अधिकारीले गरेको प्रयासलाई मधेशका युवा नेताहरु सम्झन्छन्। तत्कालीन एमाले र मधेशको सम्बन्ध बिग्रिँदा सबैभन्दा बढी चिन्तित नेता रविन्द्र अधिकारी थिए।

एमाले र मधेशवादी दलबीच राम्रो सम्बन्ध होस् भनि रविन्द्र अधिकारीले मधेशका युवा नेताहरुसँग पटक–पटक छलफल गरेका थिए। उनले आफ्नै पहलमा मधेशी नेताहरुसँग धुलिखेलमा आवासीय छलफल गरेका थिए। २०७४ असार २५–२६ गते भएको छलफलमा मधेशवादी दलका युवा नेताहरुको सहभागिता थियो। सो छलफलमा नेता अधिकारीले मधेशप्रति एमाले सकारात्मक रहेको छ। तर, त्यसको बारेमा गलत प्रचार भइरहेको यसलाई सच्याउनुपर्ने धारणा राखेका थिए।

उनले एमालेप्रति मधेशलाई कसैले उचालेको र मधेशले एमालेलाई जसरी लिएको छ, त्यसले समस्याको समाधान नहुने बरु यसलाई समाधान गरेर जाने र त्यसको उपाय खोज्न बैठकमा प्रस्ताव गरेका थिए। मधेशको मुद्दाप्रति केपी शर्मा ओली पनि सकारात्मक रहेको भन्दै अधिकारीले मधेशी नेतालाई कन्भिन्स गर्ने प्रयास गरेको सुमन सम्झन्छन्।

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत रहँदन अधिकारीसँगै राजनीतिक यात्रा शुरु गरेका सोनलले भने, ‘रविन्द्रजी देशका लागि निकै सम्भावनायुक्त भएका नेता हुनुहुन्थ्यो, उहाँको निधले देशलाई ठूलो क्षति भएको छ।’ संविधानसभामा सँगै काम गरेको पछि अन्तरपार्टी, युवा ककस, एनटीटीपीमासँगै काम गरेको हुनाले आफूले अधिकारीलाई नजिकबाट बुझेको बताउँदै सोनलले राजनीतिबाट देशमा केही नयाँ गर्ने सोच उनमा रहेको सम्झन्छन्।

आफू पहिलो संविधानसभामा विकास समितिको सभापति भएको स्मरण गर्दै उनले पछिल्लो संविधानसभामा अधिकारी सो समितिको सभापति बनेपछि आफूलाई पटक–पटक बोलाएर छलफल गरेको बताउँछन्। नेता सोनलले उनीमा पाएको राजनीतिक दृष्टिकोण स्मरणलायक रहेको बताए।

सोनलले विद्यार्थी नेताको रुपमा रविन्द्र अधिकारीसँग हवाना गएको पुरानो फोटो फेसबुकमा सार्वजनिक गरेका छन्। सोनल भन्छन्, ‘रविन्द्रजीसँग साउथ अफ्रिका, कोरिया लगायतका देशसँगै गएको थिए। उहाँसँग यात्राको क्षण पनि स्मरण लायक छ।’

‘जनकपुर आएको बेला यहाँको निकै चिन्ता गर्नुहुन्थ्यो, जनकपुरलाई विश्वमा कसरी चिनाउन सकिन्छ, पर्यटकलाई यहाँ कसरी तान्न सकिन्छ जस्ता कुरा घण्टौ बसेर गर्नुहुन्थ्यो,’ सोनलले भने, ‘जनकपुरप्रति मसँगै पटक–पटक चिन्ता जाहेर गर्नुभएको थियो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्