काठमाडौं। राष्ट्रियसभा सदस्य वामदेव गौतमले रुसले युक्रेनमाथिको आक्रमण तुरुन्त बन्द गर्नुपर्ने बताएका छन्।
आइतबार एक विज्ञप्ति जारी गरी उनले रुसले गरेको आक्रमण दोस्रो विश्वयुद्धपछि सुरु भएको राष्ट्रिय स्वतन्त्रता, समृद्धि र लोकतन्त्रको विश्व प्रवृत्तिका विरुद्ध रहेको बताएका छन्।
‘यो युद्ध दोस्रो विश्युद्धको अन्त्यबाट विकसित भएको विश्व प्रवृतिका विरुद्धमा छ। शान्तिपूर्ण बाटोबाट आफ्नो विकास गर्न चाहने नेपालजस्ता १०० भन्दा धेरै राष्ट्रहरूका चाहनाका विरुद्धमा छ’ उनले भने।
नेता गौतमले यो अवस्थालाई ह्रदयंगम गर्दै रुसले तुरुन्त युद्ध बन्द गरेर आफ्ना सैनिक फर्काउनुपर्ने र शान्ति वार्ताबाट दुई राष्ट्रका बीचको समस्या समाधान गर्नुपर्ने बताए।
उनले रुस युक्रेन युद्धको सन्दर्भमा नेटो सैनिक संगठन पनि भंग गर्नुपर्ने बताए। ‘हिन्द प्रशान्त सैनिक संगठन खडा गर्न लागिएका काम बन्द गर्नुपर्छ। आफ्नो राष्ट्रको सिमानाभन्दा बाहिर राखिएका फौजी अखडाहरू आफ्नो राष्ट्रिय सीमाभित्र लैजानुपर्छ’ गौतमले भनेका छन्।



लोकपाटी न्यूज

