पोखरा। यस वर्षको अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कारबाट समालोचक, साहित्यकार डा बाबुराम अधिकारीलाई सम्मान गरिने भएको छ। अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कारको राशि ५० हजार र ताम्रपत्र छ।
डा. अधिकारी अहिले पृथ्वीनारायण क्याम्पसमा नेपाली शिक्षा विभाग प्रमुख छन्। उनका आधा दर्जनभन्दा बढी समालोचनात्मक कृति, आधा दर्जन पाठ्यपुस्तक र विभिन्न साहित्यिक रचना प्रकाशित छन्। उनी यसअघि जमर्को पुरस्कार तथा सम्मान ९२०५६०, नेपाल विद्या भूषण ‘क’ ९२०७००, दीर्घ सेवा पदक सम्मान ९२०७५०, बलराम वाङ्मय प्रतिभा पुरस्कार चितवन ९२०७७० आदिबाट सम्मानित भइसकेका छन्।
प्रतिष्ठानका सल्लाहकार प्राडा रविलाल अधिकारी संयोजक र प्रतिष्ठानका सचिव पद्यराज ढकाला र कोषाध्यक्ष फडिन्द्र अकिञ्चन सदस्य रहेको प्रतिभा छनोट समितिले अधिकारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो। यही फागुन १५ गते आयोजना हुने लोककविको १०४ औं जन्म जयन्ती समारोहमा उक्त पुरस्कार अर्पण गर्ने कार्यक्रम छ।
अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कार यसअघि लोकगायिका हरिदेवी कोइराला, जनकविकेशरी धर्मराज थापा, लोकगायकहरू भेडिखर्के साइँला, खिमबहादुर गन्धर्व, बमबहादुर कार्की, प्रेमराजा महत, ठाकुर सिग्देल, संस्कृतिविद्हरू मोतिलाल पराजुली र चूडामणि बन्धु, चेतन कार्की, आना मेरी स्टर, डा जगमान गुरुङ लगायत सम्मानित भइसकेका छन्।
अली मियाँकै नाममा स्थापित अली मियाँ लोकवाङ्मय पुरस्कारद्वारा पद्मराज ढकाल, सोम बज्राचार्य, गौमाया थापा, उत्तम गुरुङ, धनबहादुर गन्धर्व, शकुन्तला ज्ञवाली, ऋतु लामा, भीष्म बास्तोला, युवराज भुसाल र अम्बिका भण्डारी सम्मानित भइसकेका छन्।



लोकपाटी न्यूज

