एमसीसीमा राष्ट्रघात कहीँ छैन, गठबन्धन रहेसम्म पक्ष-विपक्षमा बोल्दैनौं

UML_Logo
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री देउवासँगको छलफललगत्तै एमाले अध्यक्ष ओलीले संसद् भवनमै माओवादी अध्यक्ष प्रचण्डसँग पनि छलफल गरेका थिए। लगत्तै दुई पार्टीका अन्य नेताहरूसहित पनि छलफल भएको थियो।

स्रोतका अनुसार बैठकमा माओवादी नेता देव गुरुङ ‘एमसिसी राष्ट्रघाती सम्झौता भएकाले पास गर्न नहुने’ भन्दै बोलिरहेका थिए। तर, एमाले अध्यक्ष ओलीले उनलाई बीचमै रोकेर आक्रोश व्यक्त गरेका थिए। ‘राष्ट्रघाती–राष्ट्रघाती भनिराख्नुभएको छ। यही कुरा मैले बुझेको छैन, केमा राष्ट्रघाती छ ? सम्झौता राष्ट्रघाती भएको भए म नै संसद्मा ल्याउँथेँ ?’ स्रोतका अनुसार बैठकमा ओलीको भनाइ थियो। उनको प्रतिक्रियापछि एकछिन बैठकमा मौनता छाएको थियो।

एमालेले सदनमा जारी राखेको अवरोध खोल्न एमालेबाट विभाजित भएर एकीकृत समाजवादीमा लागेका १४ सांसद हटाएको सूचना संसद्मा टाँस्ने वा सभामुख अग्नि सापकोटाविरुद्ध महाभियोग ल्याउन कांग्रेस तयार हुनुपर्ने सर्त राखेको छ।

साँझ बालुवाटारमा ओलीसँग भएको वार्तामा प्रधानमन्त्री देउवाले एमालेका चासोहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। ओलीले एमसिसीसहितका मुद्दामा साझा धारणासहित अगाडि बढ्न पाँचदलीय गठबन्धन तोडेर सहमतिका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

छलफल सकारात्मक दिशामा अगाडि बढेको दाबी गर्दै एमाले र कांग्रेसका नेताहरूले सहमतिका लागि शुक्रबार बिहान पुनः छलफल हुने बताएका छन्। ओलीको त्यस्तो प्रस्तावपछि प्रधानमन्त्री देउवाले सदनको अवरोध खुलाएर एमसिसी पास गराउन आफू जुनसुकै मूल्य चुकाउन तयार रहेको भन्दै शुक्रबार अपराह्नसम्म एमालेसँगको सहमति टुंगो लाग्ने गरी ठोस प्रस्ताव ल्याउने प्रतिबद्धता जनाएका थिए।

एमालेसहित जसपाको डा. बाबुराम भट्टराई समूह र लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत समेटेर वैकल्पिक गठबन्धन बनाउने प्रधानमन्त्री देउवाको कोसिस छ।

नयाँपत्रिकाबाट।