मेलम्ची रोक्न खोजेकाले सचिव सरुवा गर्नुपर्‍यो : मन्त्री मगर

Bina Magar
लाेकपाटी न्यूज

काठमाडौं, १० फागुन । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना असफल पार्ने कुनै पनि प्रयास आफ्ना लागि मान्य नभएको बताएकी छिन् । उनले मेलम्ची आफ्नो सफलतासँग जोडिएको भन्दै कसैको गिद्दे नजर पर्न नदिने बताएकी हुन् ।

‘मेलम्ची उपत्यकाबासी जनताका निम्ति महत्वपूर्ण आयोजना हो । त्यो सँगसँगै व्यक्तिगत रुपमा मेरो सफलतासँग जोडिएको विषय हो । तसर्थ कुनै पनि गिद्धेनजर पर्न दिन्नँ’ शुक्रबार संसदमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले भनिन् ।

मेलम्चीको पानी काठमाडौं ल्याउन ठेकेदार कम्पनीलाई नै जिम्मा दिने आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै सचिवले त्यसअनुसार काम नगरेकाले सरुवा गरेको उनले मन्त्री मगरले बताइन् । ‘मैले देखेको फर्मुला मेलम्ची आयोजना प्लस सीएमसी आयोजना इजकल्टु (बराबर) काठमाडौंको जनता हो’ उनले सचिव गजेन्द्र ठाकुरको सरुवाबारे भनिन्, ‘सीएमसीलाई पहिलो प्राथमिकतामा राखेर काम गरियोस् भन्ने निर्देशन थियो । त्यो फर्मुलामा बसेर काम गरेको पाइनँ ।’

मन्त्री मगरले कहिलेकाहीँ सही ट्रयाक लिन खोज्दा विभिन्न भ्रम फैलिएको बताइन् । सांसदहरुले खानेपानी मन्त्रालयबाट हालै सरुवा गरिएका सचिव गजेन्द्र ठाकुरले मन्त्रीले कमिसन खान खोजेको आरोप लगाएका विषयमा पनि प्रश्न गरेका थिए । मन्त्री मगरले त्यस विषयमा आफूले नभई सम्बन्धित व्यक्तिले नै जवाफ दिनुपर्ने बताइन् ।

मन्त्री मगरले सीएमसी आएमा काम छिटो हुने संसदलाई जानकारी दिइन् । ‘सीएमसी आएमा हामीले नेपाली भेण्डरको समस्या हल गर्न सक्छौं । रिटेण्डर सिस्टमबाट जानभन्दा छोटो समयमा काम गर्न सक्छौं’ उनले भनिन्, ‘सीएमसीले विधिसम्मत ढंगले, ठेक्काको मान्यताभित्र रहेर आउँछ भने सरकारले स्वागत गर्छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्