काठमाडाैं। अर्थमन्त्री जनार्दन शर्माले सरकारको पूँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भएको बताएका छन्। आज बिहीवार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएको योजनाअनुसार पूँजीगत खर्च गर्न नसक्दा तरलता अभाव भएको बताएका हुन्।
अर्थमन्त्री शर्माले तरलता व्यवस्थापनका लागि निरन्तर रूपमा राष्ट्र बैंकसँग छलफल भइरहेको बताए। उनले आफू अर्थमन्त्री भएपछि पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १०/१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने योजना बनाएको तर योजनाअनुसार खर्च गर्न नसकेको स्वीकार गरे ।
अहिले सरकारले वैदेशिक ऋण लिन नसक्दा पनि तरलता बढ्दै गएको कुरा आएको भन्दै अर्थमन्त्री शर्माले सरकारले आवश्यक परे मात्रै ऋण लिने बताए। सरकारले अहिलेसम्म चार खर्ब १६ अर्ब रुपैयाँ अर्थात् गएकाे आर्थिक वर्षकाे तुलनामा ४० प्रतिशतले राजस्व उठेकाले खासै पैसाको अभाव नभएको बताए। उनले चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब रुपैयाँ राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइनसकेको बताए।
उनले भने, ‘सरकारले पुँजीगत खर्च बढेको भए बजार तरलता अभाव हुने थिएन । तर सरकारले बनाएको योजनाअनुसार पुँजीगत खर्च गर्न नसक्दा तरलताको समस्या आएको छ । विगतको सरकारले बनाएका कतिपय नीतिको कारण पनि अहिलेको समस्या आएको हो । राष्ट्र बैंकले तरलता सहज बनाउन लागि रहेको छ । नेपालको अर्थ व्यवस्था आयतमुखी भएको छ । यसलाई उत्पादनमुखी बनाउनुपर्ने चुनौती रहेको छ। यसका लागि गुणात्मक परिवर्तन आजको आवश्यता हो, राजस्व सङ्कलन प्रणाली, खर्चे गर्ने प्रणाली बलियो बनाउनु आवश्यक पर्छ ।’
अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर सात प्रतिशत नै हासिल गर्न सकिने बताए। उनले विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल रहेको भने पनि त्यस्तो समस्या नहुने स्पष्ट पारे ।



लोकपाटी न्यूज

