काठमाडाैं। नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सभापति पदमा उम्मेदवारका लागि गर्दै आएको दाबी छोडेका छन् । मंगलबार दिउँसो प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको रामचन्द्र पौडेल पक्षीय नेताहरूको बैठकमा कोइरालाले सभापतिको दाबीबाट ब्याक भएका हुन्।
पौडेलको आग्रहमा आफूले सभापतिको दाबी छोडेको कोइरालाको भनाइ छ । ‘मैले दाबी छोडेँ। रामचन्द्रजीले एक पटक छोडिदिनुस् मेरो लागि भन्नुभएको छ,’ उनले भने ।
शेखर कोइराला र प्रकाशमान सिंह भने सभापतिको दाबी छाड्ने पक्षमा नरहेको कोइरालाको भनाइ छ । ‘शेखर र प्रकाशमान छोड्ने पक्षमा देखिनुहुन्न,’ उनले भने । भोलि बिहान साझा उम्मेदवार तय गर्नुपर्ने कोइरालाको जोड छ । ‘हामीसँग छलफल गर्ने समय अब छैन। राति टुङ्गिन नसके भोलि बिहान त पक्कै सकिन्छ,’ उनले भने ।
पौडेल पक्षको भोलि बिहान ९ बजे आफू पक्षीय केन्द्रीय सदस्य, निर्वाचित जिल्ला सभापति, प्रदेश सभापति, प्रदेश सभापतिका प्रत्यासीसहितको बैठक बस्ने र सो बैठकले साझा उम्मेदवार तय गर्ने जनाइएकाे छ।



लोकपाटी न्यूज

