काठमाण्डौं, ८ फागुन । सरकारले एकै पटक सात जना सचिवको सरुवा गरेको छ । सरकारले सचिव कृष्णप्रसाद देवकोटा, मोहनकृष्ण सापकोटा, गजेन्द्र ठाकुर, दीपेन्द्रनाथ शर्मा, विष्णुप्रसाद लम्साल, रेश्मीराज पाण्डे, अनुसार सूर्य गौतमलाई सरुवा गरेको हो ।
अवकाशको समय नजिकै रहेको पर्यटन मन्त्रालयका सचिव देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका मोहनकृष्ण सापकोटालाई ल्याइएको छ ।
खानेपानीमन्त्री बिना मगरसँग विवाद परेपछि सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरी प्रधानमन्त्री कार्यालयका दीपेन्द्रनाथ शर्मालाई खानेपानी मन्त्रालय ल्याइएको छ ।
यस्तै रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साल प्रधानमन्त्री कार्यालयमा र प्रधानमन्त्री कार्यालयका रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सूर्य गौतमलाई सचिवमा बढुवा गरी महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ ।



लाेकपाटी न्यूज

