एकल बहुमत ल्याएर संविधानकाे आवश्यक संशाेधन गर्छाैं : ओली

लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् । पार्टीको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनहरूमा बहुमत ल्याउनका लागि तयारी गर्न नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।

संसद् पुनःस्थापना गरेर सरकारबाट गलत ढंगबाट बाहिरिनु परेको भन्दै त्यसलाई सच्याउनका लागि बहुमत ल्याउनुपर्ने ओलीको भनाइ थियो । उनले भने, ‘जनमतबाट एकल बहुमत ल्याउनुपर्ने छ । यो देशका लागि हो, एमालेका लागि होइन । देश बनाउन, सार्वभौम सत्ताको रक्षा गर्नका लागि, लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर लोकतन्त्रको रक्षा, संविधानको रक्षा र कार्यान्वयनका लागि एकल बहुमत ल्याउनुपर्छ। संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अगाडि बढ्नका लागि एमालेले बहुमत ल्याउनुपर्छ ।’

प्रतिनिधिसभा विघटन गरेर जनादेशमा जान खाेज्दा अन्य दलले परमादेशकाे बाटाे राेजेर गलत काम गरेकाे उनले बताए।  उनले भने, ‘गलत बाटो नजाउँ, अध्यादेश परमादेशको बाटो नजाउँ, परमादेशबाट सरकार नबनाइ बरु जनताका बीचमा जाउँ भनेर आग्रह गरेका थियौं।जनताका बीचमा जान अरु राजनीतिक शक्तिहरू त्रसित भए । जनताका बीचमा जाने प्रयासलाई रोकियो ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्