भीम रावललाई बस्नेतकाे आग्रह : अध्यक्षमा दिएकाे उम्मेदवारी फिर्ता लिनुस्

Mahesh_Basnet
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीका उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता गर्न पनि आग्रह गरेका छन् । रावलले अध्यक्षमा उम्मेदवारी दिएर राम्रो सन्देश नगएको उल्लेख गर्दै फिर्ता लिएर विगतमा खेल्दै आएको भूमिकालाई निरन्तरता दिन उनले आग्रह गरेका हुन्।

उनले भने, ‘कमरेड भीम रावलले दुई कारणले उम्मेदवारी दिएको हुन सक्छ । एउटा, अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिकाहरू, अन्य पदहरूमा आफूलाई स्थापित गराउन उहाँले चाहेको पनि हुन सक्छ । दोस्रो, अध्यक्षमा उम्मेदवारी दिने हारजित जे हुन्छ, त्यो कुरालाई सहर्ष स्वीकार गरेर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाऔँ भन्ने ढङ्गले उहाँले उम्मेदवारी दिएको हुन सक्छ । किनभने जित्ने उहाँको कुनै पनि सम्भावना देखिँदैन ।’

उनले अगाडि भने, ‘अब चुनावमा यो दुवै प्रक्रियामा जाँदाखेरी मलाई लाग्छ–उहाँले अध्यक्षमा दाबी गरेर एउटा राम्रो सन्देश गएन कि भन्ने। र मेरो उहाँलाई सुझाव के छ भने त्यो उम्मेदवारी फिर्ता गरेर पार्टीभित्र महत्त्वपूर्ण भूमिका, उहाँले विगतदेखि जुन खेल्दै आउनु भएको छ, त्यसलाई निरन्तरता दिने हिसाबले नै आफूलाई स्थापित गरेर जाने कुरा नै सबभन्दा राम्रो हुन्छ । त्यसो नगरी उहाँ चुनाव जाने र उहाँ निराश हुने, जसरी उहाँका पछिल्ला अभिव्यक्ति अलि उत्तेजक खालको अलि निराशाजनक खालको, अलिकति अराजक खालको देखिन खोज्दैछ र उहाँ एउटा राष्ट्रवादी, बौद्धिक र एउटा विद्यावारिधि गरेको छवि बनेको व्यक्तिलाई फरक ढङ्गले हेर्ने दृष्टिकोण पनि बन्दैछ । यसो हुन नदिने गरी उहाँले उम्मेदवारी फिर्ता लिएर जाँदा राम्रो हुन्छ ।’

नेता बस्नेतले महाधिवेशनमा पूर्व माओवादी पृष्ठभूमिबाट आएका नेताहरू र दश बुँदे सहमतिको अवधारणा बोकेर आएका नेताहरूलाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्न लागिपर्ने बताए । बस्नेतले पार्टीको दसौँ महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।