काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानून विपरीत काम गरेको टिप्पणी गरेका छन् ।ज्ञवालीले नेपालको कानूनले निषेध गरेको ती टेलिभिजन च्यानलहरु उद्घाटन गर्नुको कारण के हो भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरे ।
आइतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालले सञ्चार माध्यमहरुमा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुराहरु स्वागत गर्न नसकिने स्पष्ट पारेका हुन् ।
गत मंसिर ३ गते योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए । प्रधानमन्त्री देउवाले उद्घाटन गरेको ती दुई च्यानल कानूनसम्मत नभएको प्रवक्ता ज्ञवालीको दावी छ । उनले सो च्यानल नेपालको कानून विपरीत सञ्चालनमा आएको प्रतिक्रिया दिए ।
उनले भने ‘नेपालले बाह्य लगानीका लागि केही क्षेत्रलाई निषेधित गरेको छ । यो अहिले कुनै व्यक्ति विशेषलाई, संस्था विशेषलाई लक्षित गरेर होइन । खास गरेर सञ्चार क्षेत्रमा टेलिभिजनदेखि लिएर अरु विभिन्न क्षेत्रहरु सञ्चार माध्यामहरुमा बाह्य लगानीलाई पूर्ण रुपले निषेध गरिएको छ । अब कुन ढंगले प्रधानमन्त्रीले त्यो टिभी च्यानल उद्घाटन गर्नु भयो । त्यो हामीले बुझेका छैनौं ।’
प्रवक्ता ज्ञवालीले सो टेलिभिजन च्यानलबारे विस्तृत रुपमा छलफल गर्ने जानकारी समेत दिए । उनले कानुनसम्मत, विधिसम्मत र नेपालले प्राथमिकता तय गरेको क्षेत्रमा आउने बाह्य लगानीलाई भने आफूहरुले सधैं स्वागत गर्ने बताए ।



लोकपाटी न्यूज

