बुटवलका बुद्धिजीवीसँग मार्क्सवादी ज्ञान केन्द्रको अन्तरक्रिया

लोकपाटी न्यूज

रुपन्देही। मार्क्सवादी ज्ञान केन्द्र जिल्ला शाखा रूपन्देहीकाे आयाेजनामा ‘परिचय तथा संक्षिप्त अन्तरक्रिया’ कार्यक्रम सम्पन्न गरेकाे छ। मार्क्सवादी ज्ञान, सिद्धान्त र दर्शन बुझ्ने बुझाउने र वैचारिक क्षमताकाे अभिवृद्धि गर्ने अभियान स्वरुप शाखाले साे कार्यक्रम सम्पन्न गरेकाे हाे।

कार्यक्रममा बक्ताकाे रुपमा बाेल्दै मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले दर्शन र विचारमा प्रष्ट नभएको समूहले क्रान्तिको नेतृत्व गर्न नसक्ने बताए। उनले हातहरु सुसज्जित हुनु पहिले मानिसकाे दिमाग सुसज्जित हुन आवश्यक रहेकाे स्पष्ट पारे। उनले भने, ‘ दर्शन र विचारमा प्रष्ट नभएको समूहले क्रान्तिको नेतृत्व गर्न सक्दैन। हातहरू सुसज्जित हुनुपूर्व दिमाग सुसज्जित हुन आवश्यक छ।’

नेपालमा मार्क्सवादी विश्वविद्यालयकाे आवश्यकता रहेकाे भन्दै उनले आजको पुस्ताले मार्क्सवादको रक्षा, प्रयोग र विकासको प्रश्नलाई गम्भिरतापूर्वक लिनुपर्ने बताए।  उनले भने, ‘नेपालमा मार्क्सवादी विश्वविद्यालय आवश्यक छ। आजको पुस्ताले मार्क्सवादको रक्षा, प्रयोग र विकासको प्रश्नलाई गम्भिरतापूर्वक लिनुपर्छ। मार्क्सवादका सार्वभौम सत्यको जगमा २१ औं शताब्दीमा विकसित परिदृश्य र आयामहरूको गहिरो अन्वेषण गर्नु हाम्रो जिम्मेवारी हाे।’

उनले मार्क्सवादी ज्ञान केन्द्र नेपालका वामपन्थी शक्तिहरूको साझा मञ्च भएकाे समेत स्पष्ट पारे। ‘मार्क्सवादी ज्ञान केन्द्र नेपालका वामपन्थी शक्तिहरूको साझा मञ्चहाे। हामी देशव्यापी मार्क्सवादी शिक्षामार्फत् शक्तिशाली कम्युनिस्ट आन्दोलन निर्माणको अभियानमा छौं।’ , उनले भने, ‘हाम्रो ध्येय कम्युनिस्ट आन्दोलनलाई वैचारिकीकरण गर्नु हो। एकीकृत आन्दोलनका निम्ति वैचारिक शिक्षा र उत्प्रेरणा कायम गर्नु हो।’

त्यस्तै, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बञ्जाडेले मार्क्सवादी ज्ञान केन्द्रको अभियानले कम्युनिस्ट आन्दोलनलाई शक्तिशाली बनाउने बताए। उनले मार्कसवादी ज्ञान केन्द्रमा जाेडिन सबैलाई आग्रह समेत गरे। उनले भने, ‘मार्क्सवादी ज्ञान केन्द्रको अभियानले कम्युनिस्ट आन्दोलनलाई शक्तिशाली बनाउँछ। जिल्लाका सबै साथीहरूलाई ज्ञान केन्द्रमा जोडिन आग्रह गर्दछु।’ ।

विचारमा खारिएको नेता कार्यकर्ताले नै आन्दोलनमा बढी योगदान गर्न सक्ने भन्दै उनले भने, ‘ हामीले नियमित पढौं। म पनि यस अभियानमा जोडिएर नियमित अध्ययन गरिरहेको छु। हामी मार्क्सवादी ज्ञान केन्द्रसँग समन्वय गरी जिल्लामा स्कुलिङको तयारी गर्नेछौं।’

त्यस्तै, मार्क्सवादी ज्ञान केन्द्रका सल्लाहकार डा. केपि खनालले आफू ४० वर्षअघिदेखि कम्युनिस्ट आन्दोलनमा भएकाे स्मरण गर्दै भने, ‘म ४० वर्ष अघिदेखि कम्युनिस्ट आन्दोलनमा छु। तर, हामीले मार्क्सवाद पढेकैं रहेनछौं। म चिकित्सक पनि हुँ। बेलुका रातिसम्म बिरामी हेर्नुपर्छ। तर, बिहानै उठेर मार्क्सवादी ज्ञान केन्द्रको कक्षामा जोडिन्छु। कक्षा सकिएपछि मात्र काममा जान्छु। यसरी पढ्न पाउँदा निकै खुसी छु। यो अभियानमा निरन्तर लाग्नेछु।’

त्यस्तै, नेपाल बुद्धिजीवी संगठनका सहसंयोजक नीलकण्ठ तिवारीले मार्क्सवादी दर्शन, अर्थशास्त्र र समाजवाद नबुझी कम्युनिस्ट आन्दोलन नबुझिने तर्क गरे। उनले वैचारिक अध्ययनकाे खडेरी परेकाे बेला ज्ञान केन्द्र उदाएकाे प्रति खुसी व्यक्त गरे । उनले भने, ‘मार्क्सवादी दर्शन, अर्थशास्त्र र समाजवाद नबुझी कम्युनिस्ट आन्दोलन बुझिन्न। यसको गहिरो अध्ययन जरूरी छ। वैचारिक अध्ययनको खडेरी परेकाे बेला ज्ञान केन्द्र आएको छ। हामी खुसी छौं।’

उनले अगाडि भने ,’राष्ट्रिय सम्मेलनपछि बुद्धिजीवी संगठनले पनि वैचारिक कामलाई प्राथमिकता दिनेछ। यसका लागि हामी आवश्यक गृहकार्य गरिरहेका छौं। विचारमा स्पातिलो बनाउन हामी क्रियाशील हुनेछौं।’

त्यस्तै मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय सचिव एवं प्रदेश संयोजक हुमनाथ न्यौपाने सुदिपले अध्ययन संस्कृतिको विकासका आफूहरु याे अभियानमा लागिपरेकाे बताए। उनले भने, ‘अध्ययन संस्कृतिको विकासका लागि हामी यो अभियानमा छौं। कम्युनिस्ट आन्दोलनलाई विचार, आदर्श र मूल्यमा हिँडाउन र घच्घचाउनु हाम्रो ध्येय हो। यसमा हामीले अपेक्षित सफलता प्राप्त गर्नेछौं।’

मार्क्सवादी ज्ञान केन्द्र रूपन्देही शाखा अध्यक्ष दीपक अधिकारीकाे अध्यक्षतामा भएकाे साे कार्यक्रमकाे सञ्चालन शाखा सचिव दीपक न्यौपानेले गरेका थिए। कार्यक्रममा ८० जना भन्दा बढी वामपन्थी बुद्धिजीवी एवं अध्येताहरूको उपस्थिति रहेकाे थियाे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्